काठमाडौं । प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको महासंघले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा आमसञ्चारमाध्यममा प्रकाशित/प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह पनि गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ–यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर छ । महासंघ यस किसिमका घटना तत्काल रोक्न र यस्ता घटना पुनः नदोहोर्याउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ । र, प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने पनि स्पष्ट गर्न चाहन्छ ।’
यसैबीच यसविषयमा महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल बार एसोसिएसन र नेपाल प्रहरीका अधिकारीसँग छलफल गरेको छ ।
यस्तै सञ्चार सम्वद्ध विभिन्न संस्थाहरू नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रान्तिकारी पत्रकार संगठन, नेपाल, अनलाइन पत्रकार संघसहितका प्रतिनिधिहरूसँग पनि छलफल गरी प्रहरीको ध्यानाकर्षण गराउने र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लागि संयुक्तरूपमा प्रतिवाद गर्ने निष्कर्ष महासंघले निकालेको छ ।
प्रतिक्रिया दिनुहोस