काठमाडौँ । अति गोप्य रहने डिआइजीहरुको कार्य सम्पादन मूल्याङ्कन प्रकाशन गर्ने तीन अनलाइनका सम्पादकविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।
प्रहरीले सुशासन, शुभदिन र मूलधारन्यूज अनलाइनका सम्पादकहरुलाई अविलम्ब प्रहरी कार्यालयमा ‘उपस्थित गराउन’ भन्दै पत्र काटेको हो ।
यसअघि प्रहरीले पुस ६ गते कार्यसम्पादन मूल्याङ्नको स्रोत माग्दै पत्र पठाएको थियो । त्यसपछि यस विषयमा पाटन अदालतमा रिट दर्ता भएको थियो ।
तर, पाटन अदालतले पुस १८ गते प्रहरीकै पक्षमा हुने गरी फैसला सुनाएपछि प्रहरीले आइतबार पुनः दोस्रो पत्र कोटेको हो ।
प्रेस काउन्सिललाई समेत बोद्यार्थ गरिएको पत्रमा लेखिएको छ, ‘अदालतको आदेश र पत्रकारको पेशागत मर्यादा प्रतिकुल नहुने गरी उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा केही कुरा बुझ्नु पर्ने भएकाले त्यहाँ अनलाइन पत्रिकाका सम्पादकहरुलाई अविलम्ब यस कार्यालयमा उपस्थित गराई अनुसन्धान कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ ।’
यता, प्रहरीको यस कदमबाट प्रेस स्वतन्त्रताको हनन भएको भन्दै पत्रकारहरुले विरोध गरिरहेका छन् ।
पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका शिव गाउँलेले सामाजिक सञ्जालमा प्रहरीको पत्र सार्वजनिक गदै लेखेका छन्, ‘सम्पादकहरु ! समाचारको अन्तर्वस्तुलाई लिएर म प्रहरीसँग कुरा गर्दिन र स्रोत बताउँदिन भन्ने जवाफ दिनुस् । न्यायालय र प्रेस काउन्सिल प्रति भने तपाईं जवाफदेही हुनैपर्छ ।’
सिलवाल भन्छन्, ‘आई एम रेडी’
उता, प्रहरीको खोजी सूचीमा रहेका पूर्व डिआइजी था नवनिर्वाचित सांसद नवराज सिलावालले सोमबार बिहान ट्वीट गर्दै आफूमाथि आएको विपत्ति सामना गर्न तयार भएको आशय प्रकट गरेका छन् ।
सोमबार बिहान १० बजेर २४ मिनेट जाँदा उनले लेखेका छन्, प्रिय २०१७ सबै पाठका लागि धन्यवाद, प्रिय २०१८ म तयार छु ।’
प्रहरीले सिलवालाई समेत ‘उपस्थित गराउन’ पत्र काटेको छ ।
त्यस्यता सिलवालको प्रहरीले व्यापक खोजी गरिरहे पनि फेला पर्न सकेको छैन । सिलवाल हाल मलेसियामा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस