काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाले गति लिएको छ । केहीदिनदेखि सुस्ताएको शीर्ष नेताको छलफलपछि आज दुवै पार्टीले आन्तरिक छलफल गर्ने र भोलि मंगलबार एकता संयोजन समितिको बैठक बस्नेबारेमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।
चितवनबाट फर्केलगत्तै एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले भेटवार्तापछि एकता प्रक्रियालाई निष्कर्षमा पुर्याएरै छाड्ने प्रतिवद्धता जनाए ।
उनका अनुसार आज दुवै पार्टीले आन्तरिक छलफल गरेर भोलि एकता संयोजन समितिको बैठक बस्नेछ । त्यसपछि वैचारिक र सांगठनिक विषयमा मिलाउन टिम बनाएर अघि बढ्ने दुई नेताबीच सहमति भएको छ ।
“एकता संयोजन समितिको बैठक बोलाउने र वैचारिक र सांगठनिक तयारीका लागि टिम बनाएर यो विषयलाई निष्कर्षमा पुर्याउने भन्ने कुरा भएको छ,” दाहालले बैठकपछि पत्रकारहरुसँग भने ।
ओली निवास बालकोटमा करिब डेढ घन्टा लामो छलफलमा तीनवटा ठोस निर्णय गरेको अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
प्रेस संयोजक अधिकारीका अनुसार पार्टी एकतालाई छिट्टै निष्कर्षमा पुर्याउन सोमबार दुवै पार्टीको शीर्ष बैठक राख्ने सहमति भएको छ । एमालेले दिउँसो २ बजे पार्टी स्थायी कमिटीको बोलाउने निर्णय गरिसकेको छ भने माओवादी केन्द्रले पनि बैठक बोलाउनेछ ।
त्यस्तै मंगलबार पार्टी एकता संयोजन समितिको बैठक आह्वान गर्ने निर्णय भएको छ । सोही बैठकले सानो कमिटी बनाएर सांगठनिक र बैचारिक धार तय गर्ने दुई अध्यक्षबीच समझदारी भएको छ । यसैबीच नेकपा माओवादी केन्द्रले पनि आज कार्यालय बैठक बोलाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस