माडीमा हात्तीको आक्रमणबाट मुत्यु भएका दुई महिलाको शव उठाउनका लागि भयो यस्तो सहमति

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १८ : ३७
माडीमा हात्तीको आक्रमणबाट मुत्यु भएका दुई महिलाको शव उठाउनका लागि भयो यस्तो सहमति

चितवन । माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठ्ने भएको छ । पीडित पक्ष र चितवनका प्रमुख जिल्ला अधिकारी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र माडी नगरप्रमुखको रोहबरमा शव उठाउने तयारी भएको पीडित परिवारका एक सदस्यले जानकारी दिए । मृतक दुवै महिलाहरुको माडीको बसन्तपुर रहेको बघौडा अस्पतालमा पोष्टमार्टम गरिने छ ।

मृतकका परिवारलाई क्षतिपूर्ति बापत राज्यले उपलब्ध गराउने १०–१० लाख रुपैयाँ छिटो भन्दा छिटो उपलब्ध गराउने, माडी नगरपालिकाले क्रिया खर्च बापत २५–२५ हजार तत्कालै दिने, मृतक सुशीला भण्डारीका छोराछोरीलाई उच्च शिक्षाका लागि पाँच लाख व्यवस्था गर्ने, अर्की मृतक कृष्णकली जैसीका छोरालाई माडी नगरपालिकामा रोजगारीको व्यवस्थापन गर्ने लगायतका सहमतिपछि शव उठेको परिवारका ती सदस्यले बताए ।

त्यस्तै जंगली हात्तीलाई नियन्त्रणमा लिनका लागि प्राविधिकसहितको टोली आजदेखि परिचालन गरिएको छ । हात्तीलाई सके नियन्त्रण नसके मारिने बताइएको छ । 
बुधबार माडी नगरपालिका–९ स्थित रीउ खोल किनारमा घाँस काट्न गएका स्थानीय ३५ वर्षीया सुशीला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

त्यसपछि स्थानीहरुले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका थिए । उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत तालाबन्दी गरेका थिए । सहमतिसँगै स्थानीयवासीले सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएका छन् । 

यसअघि विसं २०७० मा माडीमै ध्रुवे हात्तीले छ जनाको ज्यान लिएपछि माडीवासी आन्दोलित भएका थिए । ध्रुवेलाई धपाउन गोली प्रहार गरिएको थियो । सो हात्तीले हाल जनतालाई दुःख दिएको छैन । तर दशैँ अघिबाट दैनिक जसो अन्य जङ्गली हात्तीले स्थानीयलाई त्रसित बनाउँदै आएको छ । निकुञ्ज  र मध्यवर्ती क्षेत्रमा चालु आवको अहिलेसम्मको अवधिमा वन्यजन्तुबाट आठ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस