विकास एकै रातमा सम्भव हुँदैन : मेयर रेनु दाहाल

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १२ : २०
विकास एकै रातमा सम्भव हुँदैन : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास एक रातमा सम्भव नहुने बताउनु भएको छ । बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १३ को कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले विकास निर्माणका कामहरु एक रातमा सम्पन्न नभई त्यसको लागि समय लाग्ने बताउनु भएको हो । 

उहाँले भरतपुर महानगर योजनाबद्ध र दिगो विकासको योजनासहित अगाडि बढिरहेको बताउनु भयो । महानगरको आफ्नो आन्तरिक स्रोत, साधन, शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा रिङरोडको काम निर्माणाधीन रहेको उहाँको भनाइ थियो । ‘आफ्नो पहलमा भएका काम अबको दुई बर्षभित्र महानगरवासीहरूले अनुभूत हुने गरी देखाउने छु’ दाहालले भन्नुभयो । 

नेकपा अध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गर्नुभएको उहाँले जानकारी दिनुभयो ।  महानगर प्रमुख दाहालले अबको विकास महानगरपालिकाको पश्चिमी भूभागमा पर्ने बताउनु भयो । महानगरभित्र सुशासन, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य सुधारका काम भइरहेको उहाँको भनाइ थियो । 

महानगरीय योजना अनुसार सुशासन प्रवाह गर्न वडा कार्यालयहरू निर्माण गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर १३ को कार्यालयको सिलान्यास गरिएको बताउँदै उहाँले तोकिएको समयभित्र गुणस्तरीय ढंगले वडा भवन निर्माण गर्न वडा कार्यालयलाई निर्देशन दिनुभयो । महानगरपालिकाले लिएको सिटी हल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने प्रकृया अगाडि बढिरहेको बताउँदै उहाँले केही समयभित्रै यसले मूर्तरूप पाउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले प्रेमनाथ कोइराला र पद्मावती कोइराला परिवारले भरतपुर महानगरपालिकालाई जग्गा दान गरेर ठूलो गुण लगाउनु भएको बताउँदै उहाँहरूलाई धन्यवाद दिनुभयो ।


 

वुद्धिजीवी डा. भीमराज अधिकारीले पछाडि परेको वडामा पक्की वडा कार्यालयको शिलान्याससँगै विकासको अभियानको सुरूवात भएको बताउनु भयो । भरतपुर महानगरपालिका १३ का वडाध्यक्ष प्रकाश दावडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जग्गादाता परिवारलाई दोसल्ला ओढाएर प्रमुख दाहालले सम्मान गर्नु भएकोे थियो । जग्गादाता प्रेमनाथ कोइराला र पद्मावती कोइरालाद्वारा २ कठ्ठा जग्गा भरतपुर महानगरपालिकालाई प्रदान गर्नु भएको थियो । सोही जमिनमा महानगरपालिका वडा नम्बर १३ को २ हजार स्क्वायर फिटको पक्की भवन बन्नेछ । भवन ७० लाखको लागतमा ६ कोठे हुनेछ । 


प्रतिक्रिया दिनुहोस