महानगर प्रमुख दाहालद्वारा चितवन टाइगर्सलाई विजयीको शुभकामना

सफल खबर संवाददाता

बुधबार, १२ मंसिर २०७५, १८ : १८
महानगर प्रमुख दाहालद्वारा चितवन टाइगर्सलाई विजयीको शुभकामना

चितवन । स्थानीय खेलाडीहरुलाई पनि अवसर दिने उद्देश्यले एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको टिम चितवन टाइगर्सले आज (बुधबार) नारायणगढस्थित क्याम्पाचौरमा ट्यालेण्ट हण्ट कार्यक्रम गरेको छ । 

चितवन क्रिकेट संघको सहकार्यमा भएको ट्यालेण्ट हण्टमा ४६ जना युवा खेलाडीहरुको सहभागिता रहेको थियो । ट्यालेण्ट हण्टमा सहभागि मध्ये पाँच जना खेलाडीलाई क्लोज क्याम्पमा राखी अन्तिम नाम प्रकाशित गरिने चितवन टाइगर्सका मालिक किशोर भट्टराईले जानकारी दिए । 

ट्यालेण्ट हण्टमा जिल्लाका विभिन्न ठाउँबाट १३ वर्षदेखि माथिका खेलाडी सहभागि थिए । क्याम्पाचौरमा विहान ११ बजेदेखि सुरु भएको ट्यालेण्ट हण्टमा खेलाडीहरुमा निकै उत्साह देखिन्थ्यो । नारायणगढ न्यूरोडका १३ वर्षीय आर्दश दुलाल कार्यक्रममा सहभागिता जनाएर खाफ्नो ट्यालेण्ट देखाउन पाएकोमा खुशी व्यक्त गरे । “यहाँ मैले मेरो प्रतिभा देखाउन पाए, छनौट भए भने धेरै कुरा सिक्नु पाउने छु”–उनले भने । दुलालले युवा खेलाडीहरुलाई चितवन टाइगर्सले यो मौका दिएकोमा धन्यवाद दिँदै युवा खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए । अष्ट्रेलियाका डेविड वार्नरलाई आडल मानेका दुलाल बायाँ हाते व्याट्सम्यान हुन् । क्रिकेटमै अघि बढ्ने सोँच बनाएका दुलाल सिद्धार्थ बोर्डिङमा अध्ययनरत छन् । 


गतवर्ष पनि चितवन टाइगर्सले दुई जना खेलाडीलाई ट्यालेण्ट हण्ट मार्फत छनौट गरेको थियो । पहिलो संस्करणमा छनौट भएका खेलाडी आकाश थापा आजको ट्यालेण्ट हण्टमा पनि सहभागि थिए । ट्यालेण्ट हण्ट मार्फत छनौट हुँदा क्रिकेट बारे धेरै कुरा सिक्न पाएकोले पनि आफू सहभागि भएको सुनाए । उनले भने–“यहाँ हामीले समान्य रुपमा मात्रै क्रिकेट सिक्छौं, तर टिममा प¥यौं भने राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीहरुसंग धेरै कुरा सिक्न पाउँछौं ।” 

ट्यालेण्ट हण्टमा चितवन टाइगर्सका प्रशिक्षक कलाम अलि, टिम लिटर व्यवस्थापक स्यामसङजंग थापा, पूर्व कप्तान पृथु बास्कोटा, चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानलगायतको सहभागिता रहेको थियो । यही मंसिर २२ गतेदेखि काठमाडौंस्थित किर्तिपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगितामा चितवन टाइगर्सले यसपटक बलियो दाबेदारी पेश गर्ने जनाएको छ । सोही अनुरुप टिमले दुई जना विदेशी खेलाडी नियुक्त गरि सकेका छन् । जसमा आयरल्याण्डका अलराण्डर पाउल स्र्टिलिङ र इङल्याण्डका फस्ट क्लासका अलराउण्डर जोहन सिम्पसन रहेका छन् ।   

मेयर रेनु दाहालद्धारा शुभकामना
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवन टाइगर्स टिमलाई विजयको लागि शुभकामना व्यक्त गरेकी छिन् । आज (बुधबार) चितवन टाइगर्स टिमसंगको भेटमा मेयर दाहालले क्रिकेट मार्फत पनि चितवनलाई विश्वभर चिनाउन लागिएकोमा खुशी व्यक्त गर्दै टिमलाई सफलताको शुभकामना व्यक्त गरिन् । उनले भनिन्–“चितवनको क्रिकेट टिम पाउँदा निकै खुशी छु, हरेक प्रतियोगितामा चितवनको टिम हुँदा सबै क्षेत्रमा चिनाएको छ ।” मेयर दाहालले चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रगंशाला बनाउन आफू लागि परेको भन्दै जग्गाको बारेमा क्याबिनेट बैठकले टुंगो लगाएपछि निर्माण प्रक्रिया सुरु गरिने बताए । 
सो क्रममा चितवन टाइगर्सका मालिक किशोर भट्टराईले इपिएल र चितवन टाइगर्सको बारेमा जानकारी गराएका थिए । उनले मेयर दाहाललाई चितवन टाइगर्सको जर्सी समेत प्रदान गरे ।    
 

प्रतिक्रिया दिनुहोस