सडकलाई सफा पार्न भरतपुर महानगरले चलायो यस्तो कार्यक्रम

सफल खबर संवाददाता

बुधबार, १२ मंसिर २०७५, १४ : ३६
सडकलाई सफा पार्न भरतपुर महानगरले चलायो यस्तो कार्यक्रम

चितवन । तपाइँ गाडीमा यात्रा गरिरहनुभएको छ, गाडीभित्र पानी खाएको बोतल झ्यालबाट फाल्नुभयो भने खबरदार ! तपाइँसहित गाडी चालकसमेत कारबाहीमा पर्नुहुन्छ । अब तपाइँ गाडीभित्र खाएपिएर बाँकी रहेका फोहोर सडकमा फाल्न पाउनुहुँदैन । गाडीभित्र अनिवार्य डस्टविन हुनुपर्छ । त्यही डस्टविनमा यात्रुहरुले फोहोर फाल्नुपर्छ । डस्टविन भरिएपछि गाडी चालक वा सहचालकले निश्चित ठाउँमा लगेर फोहोर फाल्नुपर्छ । 
यो नियम भरतपुर महानगरपालिकाले आजबाट केही सवारी साधनलाई डस्टविन वितरण गरेर सुरु गरेको छ । ‘भरतपुर महानगरपालिकाले देशभरि सडकमा हुने फोहोरलाई न्यूनीकरण गर्नको लागि केही सवारी साधनहरुलाई डस्टविन वितरण गरेर सरसफाइमा एउटा नमुना उदाहरण पस्केको छ’ भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भन्नुभयो । उहाँले १० वटा सवारी साधनलाई डस्टविन वितरण गरेको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘भरतपुर महानगरले नेपालका सडकहरुलाई सफा बनाउन नुमनाको रुपमा केही सवारी साधनका चालकहरुलाई डस्टविन वितरण गरेका हौँ, डस्टविन अब सम्पूर्ण सवारी साधनले राख्नुपर्छ । गाडीबाट कुनै फोहोर बाहिर फाल्न पाउनुहुँदैन ।’ उहाँले झ्यालबाट फोहोर फाले गाडीसहित फोहोर फाल्ने यात्रुलाई कारबाही गरिने बताउनुभयो । 

‘पहिलो चरणमा गाडीमा डस्टविन राखे, नराखेको अनुगमन गर्छौँ, यात्रुहरुलाई पनि डस्टविनमा फोहोर फाल्न अनुरोध गर्छौँ, त्यसो गर्दा पनि अटेर भए नियमबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउँछौँ’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो, ‘भरतपुर महानगरले चालेको यो अभियानले देशभरिका सडक सफा हुने विश्वास गरिएको छ ।’
सरसफाइ अभियानमा लागेको वे गु्रप, जिल्ला ट्राफिक कार्यलय चितवन र भरतपुर महानगरले आज पुल्चोक, चौबिसकोठी र केन्द्रीय बसपार्कमा गएर विभिन्न सवारी साधनहरुलाई डस्टविन वितरण गरेको थियो । 
भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले सरसफाइमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब यात्रुहरुले गाडीमा खुड्का, सूर्ती खाएर झ्यालबाट फाल्न पाउनहुँदैन, तपाईंले चढेको गाडीमा डस्टविन हुन्छ, त्यहाँ अनिवार्य फाल्नुपर्छ ।’ उहाँले सरसफाइमा सबैको ध्यान गएन भने भरतपुर महानगरलाई स्मार्ट सिटीमा रुपान्तरण गर्न नसकिने बताउनुभयो । उहाँले आफ्नो फोहोर आफैँले सफा गर्ने बानीको विकास गर्न जरुरी भएको बताउनुभयो । 

जिल्ला ट्राफिक कार्यालय भरतपुरका प्रमुख वेदप्रसाद गौतमले सबै गाडीहरुमा डस्टविन राखे नराखेको अनुगमन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘डस्टविन नराखे, गाडीबाट फोहोर बाहिर फाले कारबाहीसमेत गर्नेछौँ ।’ उहाँले यो अभियान क्षणिक नभई निरञ्न्तर चल्ने बताउनुभयो । उहाँले डस्टविन राख्न १० दिनको समय दिइएको र त्यसपछि मात्र गाडीहरुमा अनुगमन हुने बताउनुभयो । 
उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु पौडेलले भरतपुर महानगरलाई स्वच्छ, सफा बनाउन उद्योगीहरुको पूरा साथ रहेको बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले वितरण डस्टविनको सदुपयोग गर्न चालकहरुलाई अनुरोध गर्नुभएको थियो ।  
ना ७ ख ८५४ नंको बस, ना १ ज ५९६५ नंको माइक्रो, ना ६ ख १२६५ नंको बस, बा २ ख ९५९१ चल्ने मिनीबसलगायतका सवारी साधनहरुमा डस्टविन वितरण गरिएको थियो । 

नारायण, टाँडी, पर्सा चल्ने बा २ ख ९५९१ नंका चालक ठाकुर हुमागाईंले आफ्नो सवारी साधनमा डस्टविन राख्ने र अरु सवारी साधनका सञ्चालकहरुलाई डस्टविन राख्न अनुरोध गर्ने बताउनुभयो । ना १ ज ५९६५ नंका माइक्रो चालक नारायण बसौलाले पाएको डस्टविनको प्रयोग गर्ने र यो डस्टविन फुटे अर्को डस्टविन किनेर भरतपुर महानगरको सरसफाइ अभियानलाई निरन्तरता दिने बताउनुभयो । 


 
 

प्रतिक्रिया दिनुहोस