भरतपुरलाई अर्गानिक कृषि हब बनाउन एनआरएनए लगानी गर्न इच्छुक

सफल खबर संवाददाता

मंगलबार, ११ मंसिर २०७५, १५ : ५७
भरतपुरलाई अर्गानिक कृषि हब बनाउन एनआरएनए लगानी गर्न इच्छुक

भरतपुर । भरतपुर महानगरपालिका क्षेत्रलाई कृषि, फलफूल, तरकारी र हर्बलको अर्गानिक खेती सुरु गर्ने विषयमा मंगलबार भरतपुर महानगरपालिकामा छलफल भएको छ ।
भरतपुर महानगपालिका प्रमुख रेनु दाहाल र एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनबीच सो विषयमा छलफल भएको हो । छलफलमा एनआरएनएका पूर्वअध्यक्ष हिराचनले आफूले जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई उपयोग गरी नेपालमा अर्गानिक फार्मिङ्गमार्फत फलफूल, तरकारी र हर्बलको उत्पादन गर्न चाहेको बताउनु भएको थियो ।
हिराचनले भरतपुर महानगरपालिकालाई आवश्यक जमिनको प्रबन्ध मिलाइदिन आग्रह गर्दै जतिसुकै लगानी गर्न आफू तयार भएको बताउनु भयो । उहाँले विश्व बजारमा अर्गानिक उत्पादनको ठूलो माग रहेको बताउँदै भरतपुरले अर्गानिक उत्पादनको निर्यात गर्नुपर्ने बताउनुभयो ।

छलफलमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा हिराचनलाई कृषि क्षेत्रमा लगानी गर्न स्वागत गर्दै भरतपुर महानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी नीति नियमहरु निर्माण गरी रहेको बताउँदै भरतपुर महागनरपालिका लगानीमैत्री  महानगर निर्माण गर्न आफ्नो ध्यान केन्द्रित रहेको बताउनुभयो । प्रमुख दाहालले विषादिरहित उत्पादनमा प्रेरित गर्न महानगरपालिकाले किसानहरुलाई राहत, अनुदान र तालिमको व्यवस्था गरिरहेको बताउनु भयो । 
सो अवसरमा पत्रकार ऋषि धमलाले भरतपुर देशकै राजनीतिक र भौगोलिक दुबैको केन्द्र बनाउन महागर प्रमुख दाहाललाई सबैको  साथ सहयोग र समर्थन रहनुपर्ने बताउनुभयो । धमलाले बिगतको तुलनामा भरतपुरको मुहार फेरिदै गएको यस पटकको भरतपुर आगमनमा आफूले महसुस गरेको बताउँदै सिटी हल, अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला, रिङरोड, लिङ्करोड, पार्किङ व्यवस्थापन भरतपुरका दुरगामी महत्व राख्ने योजनाको रुपमा आफूले महसुस गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस