अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ११ मंसिर २०७५, १३ : ५०
अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लु बेरीले भेटवार्ता गर्नुभएको छ । मंगलवार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा दुई देश बीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो । 

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको औंल्याउनुभयो । अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराउनुभयो । 

अध्यक्षले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आउनुभएका राजदूत बेरीलाई भन्नुभयो, “तपाईको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझैं प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।” अध्यक्षले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताउनुभयो ।
 


राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसिसि) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताउनुभयो । उहाँले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण उत्तम रहेको बताउँनुहुँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको बताउनुभयो ।
 

प्रतिक्रिया दिनुहोस