पिपिएलको विजेताले सत्ताइस लाख पाउने

बुधबार, ०७ कार्तिक २०७५, १८ : ३८
पिपिएलको विजेताले सत्ताइस लाख पाउने

काठमाडौँ । पोखरामा यसै साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु २७ लाख प्राप्त गर्ने भएको छ । 

क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेता टोलीलाई रु २७ लाख दिने निर्णय भएको क्विन्स इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिनुभयो । 

त्यस्तै प्रतियोगिताका उपविजेता टोलीले रु १० लाख पाउनेछन् भने ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले सुजुकी जिक्सर १५५ सिसीको एक÷एक थान मोटरसाइकल पाउनेछन् । 

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीले रु १० हजार र प्रायोजकहरुबाट पाँच हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै पिपिएलको प्रत्येक खेलको विजेता टोलीले रु १५ हजार पाँच सय प्राप्त गर्नेछ । 

प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौँ रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । (रासस) 
 

प्रतिक्रिया दिनुहोस