काठमाडौं। प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट थालिएको हस्ताक्षर अभियानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सरिक भएका छन् ।
सोमबार काठमाडौंको रत्नपार्किस्थित शान्तिबाटिकामा थालिएको अभियानको उद्घाटन कार्यक्रममा पुगेर प्रचण्डले आफ्नो ऐक्यवद्धतासहित हस्ताक्षर गरेका हुन् ।
प्रचण्डले अभियानमा हस्ताक्षर गर्दै मानवता विरुद्धको अपराध तत्काल रोक्न दबाब दिने उद्देश्यले शुरू भएको हस्ताक्षर अभियानलाई देशव्यापी बनाएर संयुक्त राष्ट्र संघ र विश्व मञ्चको ध्यानाकर्षण गर्न अपील गरेको उनको सचिवालयले जनाएको छ ।
हस्ताक्षर अभियान एक महिनासम्म चल्ने बताएको छ । ‘प्यालेष्टिनीहरूमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्ध संयुक्त अभियान, नेपाल’ घोषणा गरेर हस्ताक्षर अभियान थालिएको हो । अभियानको संयोजक नागरिक अगुवा संयोजक श्याम श्रेष्ठ छ ।
सोमबारको कार्यक्रममा प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, पू्र्वउपप्रधानमन्त्री उपेन्द्र यादव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा नागरिक आन्दोलनका अगुवाहरूको सहभागी हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १४ : १८
लेखकबाट थप