विजयादशमीको वास्तविक सन्देश

विहीबार, ०१ कार्तिक २०७५, ०६ : ००
विजयादशमीको वास्तविक सन्देश

- रत्नसम्भव शाक्य
 

मनभित्र प्रेम, करुणा र अहिंसाको भावनाजस्ता दिव्य गुणको प्रवेश गराई आसुरी प्रवृत्तिको दमन गर्नु नै विजयादशमीको सन्देश हो ।

नेपाल र भारतका अधिकांश जनताले मान्ने चाड बडादसैँमा विशेषगरी विजयादशमीको दिनले अधिक महत्व राख्छ । राष्ट्रिय पर्वका रूपमा मान्यता प्राप्त योे चाडले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको तथा अशान्तिमाथि शान्तिको जित भएको कारणले गर्दा यस पर्वको दशमीको दिनलाई विजयादशमीको नाम दिइएको छ । यस शुभदिनको उपलक्ष्यमा मानिस एक–आपसमा सुख–शान्तिका लागि हार्दिक मंगलमय शुभकामना पनि साटासाट गर्ने चलन छ ।

परम्परादेखि चलिआएको यस चाडको आफ्नै मौलिक विशेषता छन् । एक हिन्दू मान्यताअनुसार असुरसँगको संग्राममा कालीमाई देवी भगवतीले जित हासिल गरेको कथा प्रचलित भएको पाइन्छ । यस कथालाई आजको समयमा जस्ताको तस्तै बुझ्नुभन्दा पनि यसभित्र लुकेको सन्देशलाई बुझ्नु जरुरी छ । वास्तवमै पनि आजभन्दा एक डेढ सहस्राब्दीअघि थरिथरीका कथा रचना भएको पाइन्छ एवं विविध कलाकृति सिर्जित भएका छन्, जसको मूल उद्देश्य नै जनमानसमा ती कथाद्वारा एवं कलाकृतिका माध्यमद्वारा आध्यात्मिक सन्देश दिन खोजिएका देखिन्छन् । तीमध्ये एक कथा एवं कलाकृति कालीमाईको असुरसँगको युद्ध पनि एक हो, जसको सम्बन्ध विजयादशमीसँग जोडिएको छ ।

मानवजाति वास्तवमै जन्मजातै शान्तिप्रेमी एवं सुखकामी प्राणी हो । तर, अज्ञानतावश ऊ केवल भौतिक सुखभोग प्राप्त गर्न मात्र उद्यत हुन्छ । भौतिक सुखभोग प्राप्त गर्न उसले अनेक कुकर्म गर्न पनि पछि पर्दैन । फलतः उसले वास्तविक सुखभोग गर्न सक्दैन र दुःखी नै भएर अनेक मानसिक एवं भौतिक कष्ट सहन बाध्य हुन्छ । जबसम्म मान्छेको मन सफा हुँदैन, तबसम्म वास्तविक सुखबाट वञ्चित नै हुन्छ । जबसम्म मनभित्र राग, द्वेष, रिस, घमन्ड, ईष्र्या, लोभ, अहंकार, कामवासना, बदला, हत्या, हिंसाजस्ता आसुरी प्रवृत्ति विद्यमान रहन्छन्, तबसम्म उसको मनभित्र प्रेम, करुणा, सहनशीलता, क्षमाशीलता, अहिंसा एवं भाइचाराको भावनाले स्थान लिन सक्दैन ।

फलतः मानिसको मनभित्र हरदम आसुरी प्रवृत्ति हाबी भइरहेको हुन्छ, जसका कारण कुकर्म हुन पुग्छ । आफ्नो मनभित्र प्रेम, करुणा, सहनशीलता, क्षमाशीलता, अहिंसाको भावनाजस्ता दिव्य गुणको प्रवेश गराई आसुरी प्रवृत्तिको दमन गर्नु नै विजयादशमीको वास्तविक सन्देश हो । कथाको एक पात्र रक्तबिज भन्ने असुर छ, जो मर्दै मर्दैन, जसको रगतको थोपाथोपा जब जमिनमा झर्छ, थुप्रै अन्य रक्तबिज पैदा हुन्छन् र उधुम मच्चाउन थाल्छन् । प्रत्येक थोपा रगत जमिनमा बिज बनेर उस्तै नयाँ रक्तबिज जन्मिन्छन् । रक्तबिज भनेको एक प्रतीक मात्र हो, जुन हाम्रै मनभित्र जमेर बसेको राग, द्वेष, रिस, घमन्ड, ईष्र्या, लोभ, अहंकार, कामवासना, बदला, हत्या, हिंसा गर्ने भावना हुन्, जसलाई हामी संवर्धन गरेर राख्छौँ र त्यसलाई उब्जाउ भूमि दिएर दिन दुगुना रात चौगुणा गरी हुर्काउँछौँ । कथानुसार त्यस रक्तबिजको रगतलाई जब देवीले जमिनमा पर्न नदिई पात्रमा भरेर र आफैँले पिएर सिध्याइदिन्छिन्, तब मात्र रक्तबिज मर्छ ।

यसको अर्थ हो, त्यस्ता सम्पूर्ण दुर्भावनालाई उब्जाउ भूमि नदिई दमन गरेको खण्डमा आसुरी प्रवृत्तिले मौलाउन पाउँदैन । कालिमाईको एउटा चित्र पनि अति प्रख्यात छ, जसमा उनले नरमुण्डको माला लगाई मदमत्त भईकन भगवान् शिवलाई कुल्चेकी हुन्छिन् र शिवलाई देखिसकेपछि जिब्रो टोक्छिन् । जब हामी पद प्रतिष्ठाबाट अहंकारयुक्त भई घमन्डी हुन्छौँ, रिसले चूर हुन्छौँ वा दुर्भावनाबाट ग्रस्त हुन्छौँ, त्यसवेला हुने क्रियाकलापले आफ्नै शिव अर्थात् मंगललाई कुल्चेका हुन्छौँ । अतः हरबखत होस राखी काम गर्नुपर्छ अन्यथा पछि पछुतो मानेर पनि कुनै फाइदा छैन ।

अहिले बडादसैँको यस पावन चाडपर्वको नाममा लाखौँ करोडौँ पशुपक्षीको बलि दिने चलन छ, यद्यपि यसमा केही कमी आउन थालेको छ, जुन दिव्य प्रवृत्तिभन्दा दानवी प्रवृत्तिलाई बढावा दिने खालको छ । यसमा विवेकशील मानिसले विचार गर्नु आवश्यक छ । हत्या, हिंसा आदि दुर्भावना पशुत्वका प्रतीक हुन्, ती निमुखा जीवजन्तुको साटो आफैँभित्रको त्यो पशुत्वलाई दमन गरी हामी पशुपति बन्न सक्छौँ ।

यहाँनेर भारतका महान् सम्राट् अशोकको स्मरण गर्नु सान्दर्भिक नै हुन्छ । यी सम्राट् अति क्रूर थिए । क्रूरताका कारण कालाशोक नामले प्रख्यात थिए । आफ्नो राज्य विस्तारका क्रममा उनले जब कलिंगको युद्ध गरे, त्यहाँ रगतको खोलो नै बग्यो । त्यस दृश्यलाई सम्राट् अशोकले जब देखे, उनको हृदयमा हाहाकार मच्चियो र उनले तत्पश्चात कुनै युद्ध नगर्ने एवं कहिल्यै हिंसा नगर्ने अठोट लिई अहिंसाको बाटो रोजेर आफ्नो शस्त्रास्त्र सदाका लागि त्यागे । अशोकले शस्त्रास्त्र त्यागेको दिन विजयादशमीकै दिन थियो । पछि उनै राजा धार्मिक भएर धम्माशोकका नामले प्रख्यात भए । आजभोलिको समाज आसुरी प्रवृत्तिले व्याप्त छ ।

दिनदहाडै हत्या, हिंसा, यातना एवं बलात्कारजस्ता कुकृत्य भइरहेका छन् । बालबालिका तथा चेलिबेटी दिनप्रतिदिन असुरक्षित भइरहेका छन् । भ्रष्टाचारले देश बेहाल अवस्थामा पुगेको छ । मानिसमा हिंस्रक प्रवृत्तिले पराकाष्ठा नाघिसकेको छ । समाजमा गलत गतिविधिले उब्जाउ भूमि पाएर दिनानुदिन रक्तबिजजस्तै मौलाइरहेका छन् । जिम्मेवार तहका मानिसमा पनि प्रेम, सद्भाव, न्याय, समानता, कर्तव्यनिष्ठता आदिको अभाव भइरहेको देखिन्छ । सद्गुणको विकास तथा दुष्प्रवृत्तिको विनाश नै सुख प्राप्तिको आधार हो ।

मानिस विवेकशील प्राणी हो । केही क्षण मात्र भए पनि आफ्नो मनलाई विश्लेषण गरी यसतर्फ सुधार गर्न सकेको खण्डमा अपार पुण्य लाभ गर्न सकिन्छ । यही सन्देश बोकेको विजयादशमीको दिनको पावन सन्देशलाई वास्तविक रूपमा बुझेर यसको मनन गर्न सकेको खण्डमा आफ्नो, समाजको र देशको हित सुरक्षित रहन्छ । -नयाँ पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस