काठमाडौँ । तत्कालीन समयमा चुनावी प्रचार सामग्री छाप्न ल्याइएको पुरानो हाते प्रेस त्रिभुवन विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । पूर्व सूचना तथा संस्कृति राज्यमन्त्री स्वर्गीय राधाप्रसाद घिमिरेको परिवारले उक्त हाते प्रेस त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई दिएको हो ।
पूर्व राज्यमन्त्रीकी कान्छी बुहारी दुर्गा घिमिरेले विभागका प्रमुख डा. कुन्दन अर्याललाई सो हाते प्रेस हस्तान्तरण गरेकी हुन् । २०१५ सालको आमचुनावताका प्रचार सामग्री खास गरी पोस्टर छाप्ने प्रयोजनका लागि भारतको कलकत्ताबाट विराटनगरमा ल्याई स्थापना गरेका थिए ।
पायोनियर प्रेसका नामबाट सञ्चालनमा आएको उक्त छापाखाना विराटनगरका पुराना छापाखाना मध्येको एक थियो ।सन् १८८३ मा लन्डन (बेलायत) मा बनेको यो हाते प्रेस गुटेनवर्गले सन् १४४० ताका आविष्कार गरेको प्रेससँग मिल्दोजुल्दो रहेको विभागले जनाएको छ ।
अब त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता तथा आमसञ्चार विषय पढ्ने विद्यार्थीहरूले पुरानो छपाइ प्रविधिबारे प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् । विभागमा राखिएसँगै विद्यार्थीले पढ्दै आएको हाते प्रेसलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाउने भएका हुन् ।
प्रेस हस्तान्तरण कार्यक्रममा डा अर्यालले विभागलाई शैक्षिक प्रयोजनका लागि उदारतापूर्वक हाते प्रेस प्रदान गरेकोमा आभार प्रकट गरे ।
हस्तान्तरण कार्यक्रममा बुद्धिजीवी, प्राध्यापक, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति थियो । कार्यक्रममा प्राडा कृष्ण पोखरेल, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्राडा विजुकुमार थपलिया, मानवअधिकार आयोगका संस्थापक सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित लगायत उपस्थित रहेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० कार्तिक २०८१, १५ : ०७
लेखकबाट थप