देशमा नौलो गणतन्त्र आवश्यक छ, प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऔँ : डा. सिके राउत

सफल खबर संवाददाता

बुधबार, १४ कार्तिक २०८१, १३ : ०१
देशमा नौलो गणतन्त्र आवश्यक छ, प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऔँ : डा. सिके राउत

काठमाडौँ । जनमत पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके रावतले देशमा नौलो गणतन्त्र आवश्यक रहको भन्दै शासन व्यवस्थाको विषयमा छलफल गर्नु पर्ने बेला आएको बताएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका विषयमा नयाँ खाका प्रस्तुत गरेका थिए ।‘पार्टीको ह्विप नलाग्ने व्यवस्थाको माग गरेका छौँ उनले भने, ‘कार्यपालिमा घुमिफिरी यिनै तीन चार जना प्रधानमन्त्री बन्छन्, यिनै मन्त्री बन्छन् यसरी देश अगाडि बढ्न सक्दैन, जनताको माग मुद्दा सम्बोधन भइरहेको छैन ।

उनले व्यवस्थापिकामा ह्विप जारी नहुने त्यहाँबाट मन्त्री पनि बन्न नपाउने व्यवस्थाको आवश्यकता रहेको बताएका थिए ।उनले संघ र प्रदेश दुबैमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदा स्थिर सरकार बन्ने दाबी गरे ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याऊँ, प्रदेशमा पनि त्यही गरौँ । प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुँदा कसैले पाँच वर्ष हल्लाउन सक्दैन । स्थानीय तहका जनप्रतिनिधिहरूलाई ढुक्क छ प्रदेश र संघमा पनि त्यस्तै गरायौँ भने देश विकास हुन्छ ।’

संवैधानिक निकायमा हुने नियुक्तिका विषयमा पनि गम्भीर हुनुपर्ने अवस्था रहेको उनले बताएका थिए ।'न्यायपालिका स्वतन्त्र हुनुपर्छ । अन्य संवैधानिक निकाय प्रमुखमा पनि जनताले निर्वाचित गर्ने व्यवस्था गर्नु पर्छ । जनतासँग जिम्मेवार हुन्छन् त्यसो हुँदा जो कोहीको फायल खोल्न सक्छन्’, उनले भनेका थिए ।

आर्थिक नीतिमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।'सरकारी विद्यालय अस्पताल राम्रा भएका छैनन् । यो कुराले गर्दा जनताले दुख पाएका छन् । लगानी मैत्री वातावरण बनाउनु पर्छ यसले देशको विकास हुन्छ’, उनले भने ।

मधेश प्रदेशमा अहिले आफ्नो पार्टीले नेतृत्व पाएपछि केही सुधारका संकेतहरू देखिएको उनले बताएका थिए ।‘मधेश सरकारको प्राथमिकतामा शिक्षा रहेको छ। सबैभन्दा धरै गरिबी रहेको छ । यो बिचमा अझै धेरै गर्नु छ’ उनले भने, ‘ प्रदेश साक्षरता कार्यक्रम ल्याएका छौँ । त्यसले प्रदेशको शिक्षामा सुधार गर्ने छ ।’

डा. रावतसँग शिक्षा नीति र वर्तमान अवस्थाबारे स्थानीयले अन्तरक्रिया समेत गरेका थिए ।कार्यक्रममा उपस्थित नागरिक उन्मुक्ति पार्टीका सांसद गंगा चौधरीले आफूले आफ्नो निर्वाचन क्षेत्रको विकासमा जोड दिएको बताएका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि मुलुकको शिक्षा अवस्था दयनीय बन्दै गइरहेको भन्दै युवा पलायन रोक्न सरकारले ठोस कमल चाल्न आवश्यक रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस