भरतपुरमा शुद्ध खानेपानीको पहुँच अब केही समयपछि शतप्रतिशत पुग्छ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शनिबार, १९ असोज २०८१, ११ : ५८
भरतपुरमा शुद्ध खानेपानीको पहुँच अब केही समयपछि शतप्रतिशत पुग्छ : महानगर प्रमुख दाहाल

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डको मुख्य कार्यालय भवनको शनिबार शिलान्यास गरिएको छ । भवनको बोर्डका अध्यक्ष एवम् भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरिन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले भवन पुरानो र जिर्ण भएकाले नयाँ भवन निर्माण गर्न बोर्डबाट निर्णय भएको स्मरण गरिन् । भरतपुरमा शुद्ध खानेपानीको पहुँच ९२ प्रतिशत पुगेकाले अब केही समयपछि शतप्रतिशत पुग्ने उनको भनाई थियो ।भरतपुरमा विगत ७ वर्षमा अर्बौका खानेपानीका आयोजना निर्माण सम्पन्न भईसकेको र यस वर्ष पनि विभिन्न स्थानमा नयाँ आयोजना निर्माण गरिने प्रमुख दाहालले बताइन् । महानगरले चालु आर्थिक वर्षमा विपन्न नागरिकले धारा जडान कार्य गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिइन्।

भरतपुर वडा नम्बर १० मा रहेको मुख्य कार्यालयको पुरानो भवन भत्काई सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । पुरानो भवन तत्कालिन नेपाल खानेपानी संस्थान भरतपुर शाखाको लागि निर्माण गरेको थियो । ।  बोर्डले वर्षेनी आफ्ना क्षेत्र र उपभोक्ताको संख्या विस्तार गर्दै भएपनि जिर्ण भवनबाटै सेवा दिदै आएको थियो । बोर्डका निमित्त कार्यकारी निर्देशक सञ्जय बरालका अनुसार भवन ३ तले बन्ने छ ।

भवन ५ हजार २ सय ९९ वर्ग फिटमा बन्ने छ ।  भवन निर्माण गर्न रु २ करोड ८० लाख ४१ हजार बोलपत्र आह्वान गरिएको थियो । भवन निर्माणको जिम्मा चारुमति कन्ट्रक्सन बानेश्वरले रु २ करोड १८ लाख ७५ हजार ५२४ मा पाएको हो ।

२०८१ भदौ १६ गते सम्झौता मितिले १८ महिनाभित्र निर्माण सम्पन्नु गर्नुपर्ने उल्लेख छ । नयाँ भवन निर्माण भएपछि फरक क्षमता भएका सेवाग्राहीलाई सहज हुने बताइएको छ ।  यसअघि साघुरो र जिर्ण भवनबाट सहज सेवा दिन समस्या हुँदै आएको निर्देशक बरालले बताए । बोर्डका हाल ४० हजार भन्दा बढी सेवाग्राही छन् ।
 

प्रतिक्रिया दिनुहोस