न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु : प्रस्तावित प्रधानन्यायाधीश राउत

सफल खबर संवाददाता

बुधबार, १६ असोज २०८१, १४ : ५३
न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु : प्रस्तावित प्रधानन्यायाधीश राउत

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । बुधवार संसदीय सुनुवाई समिति समक्ष आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन । प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि बताए ।

उनले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिवद्ध रहेको बताए ।

प्रस्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र संवेदनशील रहेको बताए । उनले न्यायालयमा तय गरिएका कार्ययोजना कार्यान्वयनका लागि बजेट, जनशक्ति लगायतका विषयमा देखिएको समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय र सहकारी अघि बढाउने पनि बताए ।

उनले भने, ‘न्याय परिषदबाट हुने न्यायाधीश नियुक्ती लगायतका कामकारबाहीलाई प्रभावकारी बनाई परिषद्प्रतिको विश्वासनीयतामा अभिवृद्धि गर्न विशेष जोड दिइनेछ । अदालतमा उपयुक्त कार्य वातावरणका लागि अदालतमा भौतिक पूर्वाधारको विकास र सुधार सम्बन्धि कार्ययोजना निर्माण गरी क्रमशः कार्यान्वयन गरिनेछ । प्रश्तुत कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पर्ने बजेट समेतको स्रोतको व्यवस्थापन र परिचालनका लागि नेपाल सरकारलगायतका नेपाल सरकार सम्बन्धित निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गरी सो को सुनिश्चितता गरिनेछ । प्रश्तुत कार्ययोजना कार्यान्वयनका लागि नियमित अनुगमन तथा मूल्यांकन र आवधिक समिक्षा गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गरिनेछ । नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु मेरो प्रमुख जिम्मेवारी रहेको प्रति म स्पष्ट र प्रतिवद्ध छु । न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सचेत र संवेदनशील रहेको छ ।’

प्रश्तावित प्रधानन्यायाधीश राउतले न्याय पालिकाको मर्यादा कायम गरेर अघि बढ्ने कुरामा आफू सचेत रहेको पनि बताए ।
 

प्रतिक्रिया दिनुहोस