नेपाली ब्यापारीले चीनको केरुङ जान एक दिने प्रवेशाज्ञा पाउने

विहीबार, २५ असोज २०७५, १४ : ३७
नेपाली ब्यापारीले चीनको केरुङ जान एक दिने प्रवेशाज्ञा पाउने

रसुवा । नेपाली व्यापारीले चीनको केरुङ जान एक दिने प्रवेशाज्ञा पाउने भएका छन् ।

ट्रान्सपोर्टेसन एग्रिमेन्टको पत्रका आधारमा चीनको केरुङसम्म जानका लागि नेपाली व्यापारीले प्रवेशाज्ञा पाउने भएका हुन् ।

नेपाल र चिनियाँ अधिकारीहरुबीच चीनको केरुङमा भएको सीमा सुरक्षा बैठकमा एक दिने पासका लागि ट्रान्सपोर्टेसन एग्रिमेन्टको प्रक्रिया सुरु भएको चिनियाँ अधिकारीले जानकारी दिएपछि एक दिने प्रवेशाज्ञा नपाएका व्यापारीहरुलाई सहज हुने भएको हो ।

यसअघि रसुवाबासीलाई चीन सरकारले एक वर्षको पास उपलब्ध गराउँदै आएको छ ।

बाहिरी जिल्लाबाट रसुवागढी नाका हुँदै व्यापार गर्दै आएका व्यापारीले एक दिने पास नपाउँदा व्यापारिक कारोबारमा समस्या भोग्दै आएका थिए ।

यसले केरुङमा गई व्यापार गर्नुपर्ने ब्यापारीलाई आवतजावतमा सहजीकरण हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

यसअघि नेपाली अधिकारीहरुले एक दिने पासका विषयमा चिनियाँ अधिकारीसमक्ष ध्यानाकर्षण गराउँदै आएका थिए ।

बैठकमा एक दिने पास, चेलिवेटी बेचबिखन, अवैध सामग्री ओसारपसार नियन्त्रणलगायतका पाँचवटा विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । 

प्रतिक्रिया दिनुहोस