दसैँको अग्रिम टिकट बुकिङ सुरू

सफल खबर संवाददाता

बुधबार, २६ भदौ २०८१, १६ : १५
दसैँको अग्रिम टिकट बुकिङ सुरू

काठमाडौं । दसैँका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती रहेको छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी अघि सर्थे । तर, यो पटक व्यवसायी पहिले तातेका छन् ।

पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालनक समितिले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो ।‘आ-आफ्नो गाउँघर (विजया दशमी मनाउन) जानुहुने यात्रुहरूलाई सहजीकरण होस् भन्ने उद्देश्य राखी यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको छ,’ अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरू भइनसकेको बताए । यातायात कम्पनीले अग्रिम टिकट बुकिङ सुरू गरियसकेको विषयमा उनले गाडी सबै निजी कम्पनीको भएकाले उनीहरूले अग्रिम टिकट बुकिङ खोल्नु राम्रो रहेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘नेपालमा सञ्चालन हुने सबै गाडी निजी कम्पनीको हो । अनि निजी कम्पनीले नै दशैंका लागि अग्रिम टिकट बुकिङ राम्रो हो । व्यवसायीले पहिलेदेखि नै उठाउँदै आएका मागहरू पनि छन् । अघिल्लो वर्ष पनि यातायात व्यवसायीले सडक मर्मत गर्नुपर्ने लगायतका माग राखेका थिए । कति माग पूरा भएका छैनन् । ती माग फेरि अगाडि ल्याउँछन् होला । हामीले अहिले नै बस टिकट बुकिङको लागि छलफल सुरू गरेका छैन । बिस्तारै गरौँला ।’

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपाल पुर्व अरनिको यातायात र पृथ्वी राजमार्ग यातायात कम्पनीले बुकिङ खुल्ला गरेको बताए ।

‘नयाँ बसपार्कले नै विभिन्न कम्पनीलाई अग्रिम टिकट बुकिङ खुलाउन दिएका छैनन् । बसपार्कमा गुण्डागर्दी र कार्टेलिङका कारण बुकिङ खुलाउन चाहनेका लागि खुल्ला गर्न चाहेकाले पनि सकेका छैनन् ।’

लामो रुटको बसलाई धेरै ठाउँमा चेकिङको झन्झट्लाई हटाउनुपर्ने, खाल्डाखुल्डी पुर्नुपर्नेलायतमा नेपालले ध्यानाकर्षण गराए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले सरकारी पक्ष नतातेपछि आफूहरूले नै बुकिङ खुल्ला गरेको बताए ।

उनले भने, ‘यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले व्यवसायीलाई बुकिङबारे छलफलमा बोलाएको छैन । अब बोलाउँछ होला । बाटोको भद्रगोल अवस्थालाई भने सुधार गर्नुपर्छ ।’

अघिल्लो वर्ष विभागले फूलपातीभन्दा १ महिना ३ दिनअघि अग्रिम टिकट बुकिङ खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस