उखु किसानले पाउनुपर्ने रकम ५ दिनभित्र भुक्तानी गर्न उद्योगीलाई सरकारको निर्देशन

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०७५, १९ : १७
उखु किसानले पाउनुपर्ने रकम ५ दिनभित्र भुक्तानी गर्न उद्योगीलाई सरकारको निर्देशन

काठमाडौँ । सरकारले उखु उत्पादक किसानले पाउनु पर्ने रकम ५ दिनभित्र भुक्तानी गर्न उद्योगीलाई निर्देशन दिएको छ । चाडपर्व नजिकिंदा समेत उखु किसानले भुक्तानी नपाएको गुनासो आएपछि सरकारले ५ दिनभित्र बक्यौता भुक्तानी गर्न चिनी मिललाई निर्देशन दिएको हो ।

अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, वन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुबीच सिंहदरवारमा भएको बैठकले यस्तो निर्देशन दिएको कृषि मन्त्री चक्रपाणी खनालले जानकारी दिनुभयो । पाँच दिनभित्र भुक्तानी नदिने उद्योगीहरुलाई कारबाही गरिने चेतावनी सरकारले दिएको मन्त्री खनालले जानकारी दिनुभयो । चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समिति लगायतले संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएपछि सरकार तात्तिएको हो । चिनी उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको किसानहरुको आरोप थियो ।

कृषि मन्त्रालयको सिफारीसमा गत बैशाख ५ गते सरकारले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदान बापत ६५ रुपैयाँ २८ पैसा गरी प्रति क्विण्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा दिने निर्णय भएको थियो । निर्णय भएको ६ महिनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलन गर्नु परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनुभयो । हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रुपैयाँ उखु किसानलाई भुक्तानी गर्नुपर्ने महासंघको दाबी छ । 
 

प्रतिक्रिया दिनुहोस