नेपाल टेलिकमको रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु

आइतबार, २१ असोज २०७५, २० : ०३
नेपाल टेलिकमको रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया शुरु

काठमाडौँ । सरकारले नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि चर्चामा रहेर पनि अघि नबढेको रणनीतिक साझेदार भित्र्याउने प्रक्रिया अहिले शुरु भएको हो ।

नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउनेबारे तत्काल प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयको निजीकरण एकाईमा सञ्चार मन्त्रालयले प्रस्ताव पठाइसकेको छ ।

“केही महीनाभित्रै यसबारे ठोस निर्णय हुन्छ ।” सञ्चार मन्त्रालयका एक उच्च अधिकारीले भने ।
 रणनीतिक साझेदार भित्र्याउने प्रक्रियाकै लागि टेलिकमको सम्पत्ति, दायित्व, वित्तीय अवस्था, समग्र अवस्था आदिको अध्ययन गर्न डीडीए (ड्यू डिलिजेन्स अडिट) सम्पन्न भइसकेको छ ।

करीब रु. १९ करोड खर्चेर गरिएको यो अध्ययन पनि सञ्चार मन्त्रालय हुँदै अर्थ मन्त्रालयको निजीकरण एकाईमा पुगेको छ ।

बेलायती कम्पनी एनालाइसिस म्यासन अन्तर्गतको एनालाइसिस म्यासन इण्डियाले टेलिकमको डीडीए गरेको थियो । म्यासनले रणनीतिक साझेदारको बोलपत्र आह्वान गर्न आशयपत्र र प्रपोजल आह्वानको तयारी सहितको प्रतिवेदन तयार गरेको छ ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा नेपाल टेलिकमको ३० प्रतिशत शेयर बिक्री गरेर रणनीतिक साझेदार ल्याउने पक्षमा छन् ।

यसमा अड्चन आए टेलिकममा सञ्चालनको पक्षलाई मात्र हेर्ने गरी भए पनि रणनीतिक साझेदार ल्याउने पक्षमा मन्त्री बाँस्कोटा दृढ भएको स्रोत बताउँछ ।

रणनीतिक साझेदार भिœयाउन यसअघि प्रक्रिया अघि बढ्दा अख्तियारले रोकेको थियो । रणनीतिक साझेदार भिœयाउने तयारी स्वरुप टेलिकमले चार वर्षअघि परामर्शदाता छनोट गरेर काम अघि बढाएको थियो ।

बेलायतको एनालाइसिस म्यासन अन्तर्गतको एनलाइसिस म्यासन इन्डिया लिमिटेडले टेलिकमको कूल सम्पत्ति र दायित्व साख, सबल पक्ष एवं भविष्यको अवसर सहितको रिपोर्ट तयार गरेको छ ।

नेपाल टेलिकममा रणनीतिक साझेदारका रूपमा भित्रिन विभिन्न देशका टेलिकम कम्पनीहरूले चासो देखाउँदै आएका छन् ।

यसअघि, जापान, कोरिया, कम्बोडिया, भारतलगायत देशका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले साझेदारी गर्न प्रस्ताव गरेका थिए ।

जापानको केडीडीआई कर्पोरेसनले केही वर्षअघि टेलिकमको ३० प्रतिशत शेयर किनेर व्यवस्थापन जिम्मा लिने प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस