काठमाडौं। नेकपा (एकीकृत समाजवादी)मा नेता मेटमणि चौधरीले अहिले बनेको नयाँ समीकरणमा पनि चार महिनापछि फाटो आउने दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै चौधरीले चार महिना धैर्यता गरे अब बन्ने सरकार फेरि टुट्ने दाबी गरेका हुन् । ‘आजको परिस्थितिजस्तो भए पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई दोषी नदेख्नुहोला ।
उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला । मिति गनेर राख्नुहोला, एक सय प्रतिशत पक्का छ चार महिनामा परिस्थिति तपाईं (प्रचण्ड)को अनुकूल भइहाल्छ । यसैले सबैसँग सन्तुलन रहेर व्यवहार राखेर व्यवहार गर्नुस् ।’
चौधरीले अब केपी ओली प्रधानमन्त्री बन्दा फेरि पनि संसद् विघटन हुन सक्ने भन्दै साक्षी नबस्न पनि देउवासँग आग्रह गरे । ‘नेपालको राजनीतिक व्यवस्थालाई कमजोर बनाउनेगरी संसद् विघटन हुने गरी साक्षी नबस्नुहोला ।
एक सय प्रतिशत यो हुन्छ,’ चौधरीले भने, ‘चार महिनापछि आजको प्रधानमन्त्रीजस्तो हालत अर्को प्रधानमन्त्रीको हुन्छ। छल गर्यो मायाले भन्ने गीत छ । चार महिनापछि यस्तो गीत गुन्गुनाउन नपरोस् ।’आफ्नो नेताको कमजोरीलाई जाले रुमालले छोपेको नसुहाएको भन्दै एमाले अध्यक्ष केपी ओलीले संविधानको धारा ७६(२) पछि ७६(३) आउने व्याख्याको अपव्याख्या गरेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्ड अस्थिर चञ्चल स्वभाव भए पनि नियतमा खोट नभएको उनले बताए । ‘तपाईं अस्थिर र चञ्चल हुनुहुन्छ । तर, नियतमा खोट छैन,’ चौधरीले भने, ‘तपाईं मान्छे चिन्नु हुँदैन रहेछ । अब त चिन्नु भयो होला नि को कस्तो भनेर । हामी तपाईंको साथमा छौं । तर तपाईंले पटकपटक हामीलाई छोड्नुभयो । तर हामी छोड्दैनौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ असार २०८१, १६ : २७
लेखकबाट थप