पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा

सोमबार, १५ असोज २०७५, १२ : २१
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलनमा

पोखरा : चार दिनदेखि आन्दोलनरत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी अझै काममा फर्किएका छैनन् । अस्पतालका करार तथा अस्थायी कर्मचारीले स्थायी नियुक्ति र तलब सुविधाको माग राख्दै अस्पतालमा चार दिनदेखि काम ठप्प पारेका हुन् । 

प्रशासनले आफ्नो मागप्रति बेवास्ता गरेको भन्दै अस्पतालमा कार्यरत दुई सय ९० जना कर्मचारी काममा फर्किएका छैनन् । काममा नफर्किंदा अस्पतालको सेवा प्रभावित हुन पुगेको छ । कर्मचारीले यसअघि दुई चरणका अन्दोलन गरे पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेको भन्दै तेस्रो चरणको अन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी आन्दोलनमा उत्रिएपछि अस्पतालले प्रदान गर्दै आएको सुविधा प्रभावित भएको बिरामीका आफन्तले समेत बताएका छन् । 

कर्मचारी गत जेठको अन्तिम सातादेखि विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । गत १८ साउनमा कर्मचारीले तालाबन्दी गरेपछि कर्मचारी युनियन र अस्पताल प्रशासनबीच छलफल भएको थियो । छलफलमा आफ्नो माग सुनुवाइ नभएको भन्दै आन्दोलनको विकल्प नभएको कर्मचारी युनियनका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले बताए । 

‘स्थायी र स्तरवृद्धि हाम्रा मुख्य माग हुन्,’ अध्यक्ष डा. श्रेष्ठले भने, ‘यी दुईसूत्रीय माग पूरा नहुँदासम्म काममा फर्किंदैनौं ।’ उनले वार्ता गरेर पनि सुनुवाइ नभएपछि निर्णायक आन्दोलन गर्ने बताए । 

अस्पताल प्रशासनले कर्मचारीले पदपूर्ति समिति नबनाई प्रोफेसर नियुक्त गरेको भन्दै आन्दोलित कर्मचारीले त्यही नजिरअनुसार स्थायीलाई स्थायी बनाउनुपर्ने बताएका छन् ।

आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि प्रशासनले पत्रचार गरेको भए पनि पत्रमा चलानी नम्बरसमेत नभएको पत्र पठाएको डा. श्रेष्ठले बताए । पत्रमा प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यको हस्ताक्षर भने रहेको उल्लेख गर्दै उनले माग पूरा गर्ने भए मात्र वार्तामा बस्ने जिकिर गरे । 

प्रतिष्ठान कर्मचारीले २०६४ सालमा अस्थायी र करारमा रहेका २ सय ९९ जना कर्मचारीमध्ये एक सयजनालाई मात्रै स्थायी बनाइएकोप्रति गुनासो गर्दै आएका छन् । बाँकी स्थायी नहँुदा कर्मचारीको काम गर्ने मनोबल नै घटेको युनियनका अध्यक्ष डा. श्रेष्ठले बताए । 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले कर्मचारीको तलब सुविधासहित दसैंबापतको रकम पनि खातामा गइसकेको बताए । ‘कर्मचारीलाई गारोसारो पर्ने भएकाले विगत वर्षहरु भन्दा छिटो तलबसहित दसैं पेस्की खातामा हालिसकेका छौं,’ उनले भने, ‘वार्ताका लागि आह्वान समेत ग¥यौं तर कर्मचारी साथीहरूले वास्ता गर्नुभएको छैन ।’

निर्देशक डा. आचार्यले कर्मचारीको माग पूरा गर्न नसक्ने जानकारी गराए । कार्यकारीको बैठक बसेर उहाँहरूलाई सूचनासमेत दिइसकेको अवस्थामा एउटै कुरालाई रटान गर्नुको अर्थ नभएको उनले सुनाए । अस्थायी कर्मचारीलाई स्थायी गर्न लोकसेवा आयोगको परामर्श कुरेका छौं,’ उनले भने, ‘लोकसेवा आयोगको परामर्श आए साथीहरूलाई स्याथी बनाउन कुनै कठिनाई हुँदैन ।’ 

उनले स्थायी बनाउन लोकसेवाले नियमावली सच्याऊ भन्यो भने हामी सच्याएर जाने भन्दै कर्मचारीप्रति अस्पताल प्रशासन सकारात्मक रहेको उल्लेख गरे । 

प्रतिक्रिया दिनुहोस