थ्रिलर फिल्म ‘बाटो’को काठमाडौंमा प्रिमियर

सफल खबर संवाददाता

विहीबार, ३१ जेठ २०८१, १२ : १५
थ्रिलर फिल्म ‘बाटो’को काठमाडौंमा  प्रिमियर

काठमाडौं ।  फिल्म ‘बाटो : रोड टु डेथ’ को काठमाडौं प्रिमियर गरिएको छ । बुधबार बेलुका क्यूएफएक्सको लबिम हलमा आयोजित प्रथम प्रदर्शनीमा फिल्मकर्मीको खचाखच उपस्थिति रह्यो ।

प्रिमियरमा फिल्मको कास्ट, सेलिब्रेटी, सञ्चारकर्मी, उद्यमी अरुणकुमार राठीसहित सहभागी थिए । राठी ग्रुपका अध्यक्ष समेत रहेका उद्यमी राठीले फिल्म क्षेत्रसँग पहिलोपटक सहकार्य गर्न पाउँदा गर्व लागेको बताए ।

‘आउँदा दिनमा पनि यस क्षेत्रमा कुनै न कुनै बहानामा जोडिइरहन्छौं,’ उनले भने । नेपाली, तमिल, तेलुगू र हिन्दी भाषामा निर्माण भएको यो फिल्मका पटकथा लेखक, सम्पादक र निर्देशक मदन थापाले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया मिलेको बताए ।

उनले भने, ‘नेपाली फिल्मको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना छ । हिजोआज दर्शक फिल्ममेकर भन्दा निकै अगाडि हुनुहुन्छ, त्यसकारण पनि हामीले राम्रो फिल्म बनाउनुपर्छ ।’

अभिनेता सुलक्षण भारतीले यो फिल्ममा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए । यस्तो खाले फिल्म नेपालमा यसअघि नबनेको उनले बताए । अभिनेता झाले लामो समयको प्रतीक्षापछि फिल्म रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे ।

अभिनेत्री रक्षा थापाले यो फिल्मसँग भावना जोडिएको बताइन् । अभिनेत्री मिथिला शर्माले यो फिल्ममा आफूलाई अभिनय कर्मको लागि लिएकोमा निर्देशकप्रति आभार व्यक्त गरिन् ।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यो फिल्मका निर्माता चन्दन झा हुन् । फिल्ममा मिथिला, सुलक्षण, रक्षा र उत्पलसहित पशुपति राई, किरण शाही, गणेश उपाध्याय, आभास अधिकारी, राजेन थापा, विजय आनन्द ताम्राकार, आशान्त शर्माले अभिनय गरेका छन् ।

जेठ ३२ गते यो फिल्म देशव्यापी प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस