सञ्चार नीति ल्याउँदै जुम्लाको हिमा गाउँपालिका, ३ सदस्य समिति गठन

सफल खबर संवाददाता

शनिबार, २६ जेठ २०८१, १५ : ०३
सञ्चार नीति ल्याउँदै जुम्लाको हिमा गाउँपालिका, ३ सदस्य समिति गठन

काठमाडौं। जुम्लाको हिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ ।आगामी असार १० गते सञ्चालन हुने १६औं गाउँ सभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो।

स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्य-तथ्य सूचना प्रवाह गर्नका लागि गाउँपालिकाले सञ्चार नीति ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्यवस्था भएबमोजिम सञ्चार नीति ल्याउने गाउँ कार्यपालिकाबाट निर्णय भएको छ ।

स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमलाई थप व्यवस्थित र मर्यादित गर्नका लागि आगामी १६औं गाउँसभाबाट स्वीकृत हुने गरी सञ्चार नीति ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष शाहीको भनाइ छ ।

सञ्चार नीति तयार गर्न गाउँपालिकाले ३ सदस्य समिति तोकेको छ । समितिको संयोजकमा रतनबहादुर रावत तथा सदस्यमा नरसिंह थापा र वीरेन्द्रबहादुर बम रहेका छन् ।

सञ्चार नीति गाउँ सभाबाट पारित भइसकेपछि कार्यविधि बनाई सञ्चारमाध्यमको वर्गीकरण गरी सूचना तथा सन्देश प्रसारण एवं प्रकाशनको काम गरिने भएको छ ।

सञ्चार नीति पारित भई कार्यान्वयन आए यहाँका विशेषगरी स्थानीय सञ्चारमाध्यमलाई सूचना प्रसारण तथा प्रकाशन गर्न सहज हुने गाउँपालिकाले जनाएको छ । ​

सञ्चार नीतिलाई प्राथमिकतामा राखेर गाउँ सभाबाट पारित भएमा जिल्लाका स्थानीय सञ्चारमाध्यमको विकासका लागि निकै टेवा पुग्ने रेडियो खुला आकाश जुम्लाका स्टेसन प्रबन्धक भीम कंसिगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस