तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

रासस

शनिबार, २६ जेठ २०८१, १४ : २७
तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रूपमा अगाडि बढाउन लागेको हो  । 

एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले जानकारी दिए ।

स्थानीय बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म नेपाली कफीको अत्यधिक माग भएको र बाँदरलगायत वन्यजन्तुबाट कम क्षति हुने नगदे बाली भएको हुँदा स्थानीय किसान व्यावसायिक रूपमा कफी खेती गर्न इच्छुक देखिएको उनको भनाइ छ । उनका अनुसार कफीको बिरुवा ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गरिनेछ । किसानलाई प्रविधि विस्तार र बजारीकरणको जिम्मा कृष्मी बहुउद्देश्यीय सहकारी संस्थासँग समन्वय गरिने उनले बताए । 

शुक्लागण्डकी नगरपालिकाको युवासँग उपप्रमुख कार्यक्रम र कृषी बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा यस अघि व्यावसायिक अदुवा खेती अभियान सञ्चालन गरिएको थियो । बढ्दो बसाइसराइले गाउँ खाली हुँदै गएको, उर्वर खेतीयोग्य जमिन बाँझो हुँदै गएको अवस्थामा कफी खेतीबाट बाँझो जमिनको सदुपयोग हुनका साथै किसानको आयआर्जनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Tags :  

प्रतिक्रिया दिनुहोस