एकता प्रक्रिया छिट्टै टुङ्गिन्छ : भीम रावल

सोमबार, ०८ असोज २०७५, १६ : ०४
एकता प्रक्रिया छिट्टै टुङ्गिन्छ : भीम रावल

कैलाली  ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले जिल्ला र स्थानीयस्तरको पार्टी एकता प्रक्रिया छिट्टै पूरा हुने बताउनुभएको छ । 

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले जिल्ला समितिको नाम सिफारिस गर्दा करीब करीब अन्तिम बनाएर पठाएको हुनाले प्रदेश नं ७ मा जिल्ला र स्थानीयस्तरको एकता प्रक्रिया छिट्टै टुङ्गिने बताउनुभयो । उहाँले सङ्घीयता नयाँ प्रयोग भएकाले सरकारलाई काम गर्न समस्या भएको बताउनुभयो । नेता रावलले प्रदेश सरकारले संरचना बनाउने, कानून बनाउने र प्रयोग गर्दै जानुपर्ने स्थितिमा उनीहरुको काममा आलोचना गरिहाल्नुपर्ने स्थिति नरहेको समेत स्पष्ट पार्नुभयो । 

निर्मला पन्त बलात्कार तथा हत्याको घटनाका दोषी पत्ता लगाइ कारवाही गर्न पार्टीले सरकार र प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताउँदै दोषीलाई कारवाही हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो । पत्रकार सम्मेलनमा उपस्थित नेकपाका नेता लेखराज भट्टले आफूले पार्टीको कुनै जिम्मेवारी नपाएकोमा आफ्नो कुनै गुनासो नरहेको बताउनुभयो । उहाँले पार्टीले पद तथा जिम्मेवारी बाँडफाँडमा कुनै पक्षपात नभएको समेत स्पष्ट पार्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस