ईपीएलमा पोखरालाई हराउँदै ललितपुर क्वालिफायरमा

बुधबार, १२ पुस २०७४, १६ : ३७
ईपीएलमा पोखरालाई हराउँदै ललितपुर क्वालिफायरमा

चितवन । पोखरा राइनोजलाई २७ रनले हराउँदै ललितपुर प्याटि्रयट्स एभरेष्ट प्रिमियर लिग क्रिकेट -ईपीएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । अब उसले फाइनल प्रवेशका लागि भोलि बिहीबार भैरहवा ग्लाडिएटर्ससँग खेल्नेछ । भैरहवालाई हराउँदै विराटनगर वारियर्स फाइनलमा पुगिसकेको छ ।

त्रिवि क्रिकेट कीर्तिपुरमा ललितपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको पोखरा ५ बल बाँकी छँदै १११ रनमा अलआउट भयो । यसको सुरुवात निकै खराब रहृयो । ओपनर इर्शाउल्लाले सम्हालिएर खेल्ने प्रयास गरेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । ३४ रन जोड्दा ६ विकेट गुमायो ।

सातौं विकेटका रुपमा इर्शाउल्ला २५ रनमा आउट हुँदा टिमको स्कोर ५० रन मात्र थियो । पछिल्लो क्रममा ब्याट्सम्यानले केही रन बनाउने जोड्ने प्रयास गरे तर, हार टार्न सकेनन् । किशोर महतोले २३ र शुसन भारीले १७ रन बनाए । तेल वली १० रनमा अविजित रहे ।

यसअघि ललितपुरको सुरुवात राम्रो रहृयो । इर्शाउल्ला र शंकर रानाले पहिलो विकेटका लागि ६० रनको साझेदारी गरे । जयकिशन कोल्सावाला २८ रनमा आउट भए ।
त्यसपछि ललितपुरले लगातार विकेट गुमायो र कुल ७६ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर, सन्नी पटेल र दिपेश भण्डारीले छैटौं विकेटका लागि अविजित ६२ रनको साझेदारी गरे । पटेल ३८ र भण्डारी १९ रनमा अविजित रहे ।
उसका लागि शंकर रानाले ३४ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस