मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, १५ : ३८
मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक भएको छ । सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले बैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२-१२ विद्यालय रहेका छन् ।

सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।

बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि-क्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन बैशाख २८ गते भरतपुर ७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउसँसो ४:३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप ईंग्लिश बोर्डिङ स्कुल र ओम शानति एकेडेमी भिड्नेछन् ।

कृष्णपुरसँगै भरतपुर १९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो ।

मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले स्कुलस्तरका खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीहरुलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो ।

यसैबीच सोही कार्यक्रममार्फत प्रशिक्षकहरुलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको हो । नियुक्त भएका प्रशिक्षकहरुले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने खेल संयोजक एवं चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकहरुलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ । 

प्रतिक्रिया दिनुहोस