के पुरा हुन सक्ला स्वच्छ कर प्रशासक बन्ने अर्थमन्त्री खतिवडाको चाहना ?

विहीबार, ०४ असोज २०७५, १८ : ४१
के पुरा हुन सक्ला स्वच्छ कर प्रशासक बन्ने अर्थमन्त्री खतिवडाको चाहना ?

दमौली । अर्थमन्त्री डा युवराज खतिवडाले करदातामैत्री कर प्रशासन बनाउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।  आन्तरिक राजस्व कार्यालय दमौलीको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संस्थागत व्यवस्था, प्रविधिको प्रयोग र कर्मचारीको व्यवहारलाई सुधार गरेर करदातामैत्री प्रशासन बनाउने सरकारको लक्ष्य छ ।” 

अर्थमन्त्री डा खतिवडाले यसका लागि कर्मचारीले सदाचार पद्धतिलाई व्यवहारमा उतार्नु पर्दछ भन्दै हामी सदाचारिताको कुरा मात्रै गर्ने होइन, पालना गरेर देखाउने प्रतिबद्धताका साथ सरकारमा छौँ बताउनुभयो । 

आफू स्वच्छ कर प्रशासक बन्न चाहेको उल्लेख गर्दै उहाँले कर प्रशासनमा कहीँकतै कमजोरी देखिए त्यसलाई सुधार गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अर्थमन्त्री डा खतिवडाले मुलुकको समृद्धिका लागि करदाताले इमान्दारीपूर्वक कर तिर्नुपर्छ भन्दै सङ्घीयता खर्चिलो प्रणाली भएकाले त्यसलाई व्यवस्थित गर्न पनि कर उठाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो । 

राजस्व बढाउन करको दायरा फराकिलो पार्ने रणनीति सरकारको छ, उहाँले भन्नुभयो, “सधैँ कर तिर्नेलाई मात्रै कर तिर्न बाध्य पारिरहने होइन, नयाँ करका क्षेत्र पहिचान गर्ने नीति सरकारको छ ।”  (रासस) 

प्रतिक्रिया दिनुहोस