सांसदद्वारा सरकारको ध्यानाकर्षण

सोमबार, ०१ असोज २०७५, १८ : ३८
सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदार तथा व्यवसायीको पीडा राजदूतावासका कर्मचारीले नसुनेको भन्दै सांसदहरुले चासो देखाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसदहरुले वैदेशिक रोजगारीका नाममा छवटा कम्पनीले १६ जना युवा कतारमा अलपत्र पारेकोलगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँहरुले पूँजीको ठूलो हिस्सा भौतिक पूर्वाधारमा खर्च गरिए पनि समयमा काम नगर्नेलाई कारवाही नभएको, नेपाल वायुसेवा निगममा दुई जना कार्यकारी प्रमुख नियुक्त गरिएको र मध्यपहाडी लोकमार्गमा भदौ ३० गतेको बाढीले एक जनाको निधन भई सडक अवरुद्ध भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले सामान्य मानिसले लगाउने कपडाको भन्सार महसुल बढाई सुती कपडाको दर घटाइएको, वर्षाले बिगारेको सडक चाडबाड अगावै मर्मतसम्भार गरिनुपर्ने, मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा रु १० करोडभन्दा बढी भ्रष्टाचार भएको विषयमा पनि सरकारले ध्यान दिनुपर्दछ भन्नुभयो ।

यसरी विचार राख्नुहुने सांसदहरुमा बिमला विक, भरतकुमार शाह, भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा, मायादेवी न्यौपाने, मीनबहादुर विश्वकर्मा, मनकुमारी जीसी, महेश्वरजङ्ग गहतराज, मैनाकुमारी भण्डारी, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, राधाकुमारी ज्ञवाली, राजेन्द्रकुमार राई, रेणुका गुरुङ, प्रेम सुवाल, सञ्जयकुमार गौतम, सरिताकुमारी गिरी, मीना सुब्बा, लालबहादुर थापा, सूर्यप्रसाद पाठक, प्रेमप्रसाद तुलाचन, लीलानाथ श्रेष्ठ, प्रेम आले, उमा रेग्मी, ऐकलाल मिया, शेरबहादुर तामाङ, उमाशङ्कर अरबरिया, कल्याणी खड्का, हितबहादुर तामाङ, घनश्याम खतिवडा, अमृता अग्रहरिलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

सांसदत्रय मीनाक्षी झा, मीना पाण्डे र राजेन्द्रकुमार केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले अरिँगालको गोलो जस्तै आक्रमण गर्न भनी दिएको निर्देशन आपत्तिजनक रहेको बताउनुभयो ।

सांसद मोहन बानियाँले संसदकै शौचालयमा पानी नभएको, चमेना गृहमा चिया खाँदा हावाहुरी र धुलोको सामना गर्नुपर्ने अव्यवस्था हटाउन सभामुखसँग माग गर्नुभयो । सांसद पम्फा भुसालले यातायात एकाधिकार अन्त्य भएको अवस्थामा छिटो नयाँ यातायात नीति ल्याइनुपर्ने, प्रधानमन्त्री ओलीले कार्यकर्तालाई लक्ष्यित गरेर दिनुभएको अभिव्यक्तिलाई प्रतिपक्षीले उचालेको बताउनुभयो ।

सांसद अञ्जना बिसङ्खेले ललितपुरको गोदावरी नगरपालिकाको गौदामचौरमा सामूहिक बलात्कार गरी किशोरीको टाउको ढुङ्गामा ठोकाएर मरणासन्न बनाएको घटनामा पक्राउ परेका व्यक्ति अदालतबाट छुट्नु दुःखद् रहेको उल्लेख गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस