लालबाबु पण्डित भन्छन्-'अबको प्रधानमन्त्री ओली, पार्टी अध्यक्षबारे छलफल जारी'

मंगलबार, ११ पुस २०७४, १७ : २१
लालबाबु पण्डित भन्छन्-'अबको प्रधानमन्त्री ओली, पार्टी अध्यक्षबारे छलफल जारी'

चितवन । नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री  पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन् ।
मंगलबार काठमाडौमा भएको साक्षत्कारमा नेता पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने जिकिर पनि गरे । उनले भने,‘आलोपालो हुँदैन, पूरा पाँचवर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमाकुनै दुईमत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्न  सक्ने सम्भावना रहेपनि छलफल भइरहेको छ ।’

यद्यपी उनले पार्टीको अध्यक्षमा ओली बाहेक गठबन्धनमा आवद्ध शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल बन्न सक्ने संभावना पनि भएको बताए । नेता पण्डितले गठबन्धनमा रहेका नेताहरुलाई उचित किसिमले व्यवस्थापन गर्नेबारे पनि अहिले छलफल चलिरहेको सुनाए । उनले भने,‘हिजो चुनावमा तालमेल गर्दा पनि एउटा मापदण्ड बनाएर हामी भाग लिएका थियौं, अब एकताको लागि पनि विशेष मापदण्ड बनाएर छलफलमा जुट्छौं, यति हो कि सबै नेताहरुको उचित व्यवस्थापन हुन्छ, यसमा कुनै द्धिविधा र दुई मत छैन ।’

उनले सरकार गठनपछि मात्रै पार्टी एकताहुने जनाए । भने,‘पार्टी एकता हुनेमा कुनै शंका छैन, पहिले सरकार गठन हुन्छ, अनिमात्रै हामी पार्टी एकतामा जुट्छौं ।’
नेता पण्डितले वाम गठबन्धनलाई जनताले विश्वास गरेर मतदिएको भन्दै जनताको जीवनस्तर उकास्ने र मुलुकलाई समृद्ध बनाउनेगरि अबको सरकारले कामगर्ने विश्वास दिलाए । उनले दिन गनेर सरकार गठन हुने र दिन गनेरै सरकार ढल्ने दिन अब गएको दाबी गरे । उनले भने,‘अब मुलुकलाई सहीदिशामा डोर्याउने गरि स्थायी सरकार बन्छ, पाँचवर्ष ढुक्कले सरकार सञ्चालन हुन्छ, अब सरकार गिराउने र बनाउने खेलको अन्त्यभयो ।’

उनले राष्ट्रपतिसमक्ष पेश गरिएको राष्ट्रिय सभासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिई पूर्नविचार गर्दै पूनः पठाउनुपर्ने पनि बताए । भने,‘अध्यादेश जारी हुन्छ, तर अहिलेकै अध्यादेश जस्ताको त्यस्तै जारी हुँदैन, यसलाई वर्तमान सरकारले फिर्ता लिएर पूनःनयाँ समझदारी कायम गरेर पठाउनुपर्छ, अनि स्विकृत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस