मिनी म्याराथुनमा दौडिदै ४८ महिला सहित ८९ चेपाङ्

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १५ : २९
मिनी म्याराथुनमा दौडिदै ४८ महिला सहित ८९ चेपाङ्

चितवन । नारायणगढदेखि रत्ननगरसम्म आयोजना गरिएको मिनी म्याराथुनमा ४८ महिला सहित ८९ जना चेपाङ सहभागी हुने भएका छन् । सबै क्षेत्रमा पछाडि परेको चेपाङ समुदायबाट ठूलो संख्यामा मिनी म्याराथुनमा सहभागी हुनुलाई सकारात्मक रुपमा लिईएको छ ।

रोटरी क्लब अफ रत्ननगरले यही फागुन १९ गते गर्न लागेको रोटरी मिनी म्याराथुनमा उनीहरु सहभागी हुन लागेका हुन् । प्रतियोगितामा अल्पसंख्यक समुदायको रुपमा रहेको चेपाङ् समुदायबाट ४८ जना महिला र ४१ जना पुरुष गरी ८९ जना सहभागी हुनेछन् ।प्रतियोगितामा लामो दूरी पार गर्ने चेपाङ समुदायलाई नगद रु।२ हजार र छोटो दूरीका चेपाङ महिलालाई रु।१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । म्याराथुन कार्यक्रमका संयोजक बिपिन पोख्रेलका अनुसार खुल्ला तर्फको १५ दशमलब ४ किलोमिटर र महिला लक्षित ५ किलोमिटर दुरीको दौड प्रतियोगिता हुनेछ । प्रतियोगितामा दुबै समुह तर्फ गरी ६०२ जनाले सहभागीताका लागि नाम दर्ता गराएको पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरुले सहभागीता रहने छ ।

उनले भने “जर्मनी र केन्याका दुई÷दुई जना धावकले प्रतियोगितामा सहभागिता जनाउनका लागि नाम दर्ता गराएका छन् ।” नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, सिमान्तकृत मुदायका धावकहरुको सहभागीता रहने छ ।

क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार १५ दशमलब ४ किलोमिटरको दौड नारायणगढको उद्योग बाणिज्य संघबाट सुरु हुने छ भने पाँच किलोमिटरको दौड टिकौली जंगलको मध्धभागबाट सुरु गरिने छ । दुवै दौड रत्ननगरको हरिहर मार्गमा सम्पन्न हुनेछ । भरतपुर भ्रमण वर्षलाई लक्षित गर्दै रोटरीको जनविश्वास वढाउनका लागि प्रतियोगिता आयोजना गरीएको उनले बताए ।

भरतपुर भ्रमण वर्ष र समग्र चितवनको पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । आयोजकले पुरस्कारको राशी ठूलो राखेसँगै प्रतियोगितामा सहभागिता धेरै भएको हो । यो क्लबले आयोजना गरेको दोस्रो मिनी म्याराथुन हो ।

प्रतिक्रिया दिनुहोस