संखुवा खोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न

सफल खबर संवाददाता

विहीबार, १० फागुन २०८०, १३ : ५३
संखुवा खोला जलविद्युत आयोजनाको पीपीए सम्पन्न

काठमाडौँ । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । बुधबार नेपाल विद्युत् प्राधिकरण र आयोजना प्रवर्द्धक गुराँस हाइड्रो प्रा.लि.बीच ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो ।

पीपीएमा प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्द्धक कम्पनी (गुराँस हाइड्रो) का तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन् ।  सुख्खा याम (मङ्सिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षा याम (जेठ १६ देखि मङ्सिर १५) सम्मका लागि आठ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको हो ।

आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष शिव प्रसाद घिमिरेले जानकारी दिए ।  

 

विद्युत् विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो । यस आयोजनाको बाँध संरचना सङ्खुवासभाको सिलिचिङ गाउँपालिकामा रहेको छ भने विद्युत् गृह भोजपुरको साल्पाचिलिचो गाउँपालिकामा छ ।

आयोजनाको विद्युत् गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत् उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।

२०७७ सालमा विद्युत्को ग्रिड कनेक्सन सम्बन्धी सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली सङ्खुवासभाको शीतलपाटी सबस्टेशनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिने छ ।

प्रतिक्रिया दिनुहोस