विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजस्व चुहावट नियन्त्रण र सीमा सुरक्षामा सशस्त्र प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
मोरङ बूढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारीस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वाटर कंकालिनीको नवनिर्मित बैठक कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले राजस्व चुहावट नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका अहम् रहेको बताए ।
उनले सशस्त्र प्रहरीले सीमा सुरक्षा, लागू औषध ओसारपसारमा नियन्त्रण, दैवी तथा प्राकृतिक प्रकोपका समयमा उद्धारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए । “राजस्व चुहावट, लागू औषधको ओसारपसार नियन्त्रण, प्राकृतिक प्रकोपका समयमा उद्धारलगायतमा सशस्त्र प्रहरीको अग्रणी भूमिका रहेको छ,” मेयर कोइरालाले भने, “आगामी दिनमा स्थानीय तहसित सशस्त्र प्रहरीको समन्वय र सहकार्य अझै प्रभावकारी हुने विश्वास लिएको छु ।”
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले सशस्त्र प्रहरीले जनतासित नजिक भएर काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले प्राकृतिक प्रकोपका समयमा सशस्त्र प्रहरीले उद्धार र राहत वितरणमा अग्रणी भूमिका निर्वाह गर्ने गरेको चर्चा गरे ।
कार्यक्रममा गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक एसपी तीर्थराज थापाले स्थानीय पालिकाहरुको सहयोगमा छोटो समयमै बैठक कक्षको निर्माण सम्पन्न गर्न सफल भएको बताए । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनी पति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविन राजकर्णजितले बैठक कक्षको निर्माणले भारतीय सुरक्षा निकायका समकक्षीसित बैठक गर्न सहज भएको बताए ।
कार्यक्रममा जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नेपाली सेना भैरव गण थलाहाका प्रमुख सुनिल घिमिरे, मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका प्रमुख तिलक शर्मा प्रसाईंलगायतको उपस्थिति रहेको थियो ।
गत मङ्सिर २९ गते शिलान्यास भएको बैठक कक्ष ३५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी हेमकुमार पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विराटनगर महानगरपालिकाका मेयर कोइराला चीन भ्रमणमा