धनकुटा। धनकुटाको चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने भएको छ । यसका लागि गाउँपालिकाले २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान गरेको छ । सहभागीहरूलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिइन् ।
उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउनसहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण प्रदान गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए ।
यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए । उनले भने, 'यसले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग पुग्नेछ ।'
पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलो मिटर भेडेटार–रवी–राँके राजमार्ग कालोपत्रका लागि तीव्ररुपमा काम भइरहेको छ । सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, १० : ५९
लेखकबाट थप