राम कार्की भन्छन्,– मलाई कम्युनिष्ट पार्टीको नेता भन्न लाज लागिसक्यो

आइतबार, २४ भदौ २०७५, १९ : ५२
राम कार्की भन्छन्,– मलाई कम्युनिष्ट पार्टीको नेता भन्न लाज लागिसक्यो

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका नेता राम कार्कीले वर्तमान सरकारको कार्यशैलीका कारण आफूलाई कम्युनिष्ट पार्टीको नेता हुँ भन्न लाज लागेको बताएका छन् ।

यहाँ आयोजित एक कार्यक्रममा बोल्दै नेता कार्कीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कम्युनिस्ट चरित्रको नभएको बताएका हुन् । ‘मुलुकमा दुई तिहाई बहुमतप्राप्त कम्युनिस्ट नेतृत्वको सरकार छ । तर मजदुरहरुको जीवन कष्टकर बन्दै गएको छ, महंगी बढेको बढ्यै छ,’ कार्कीले भने, ‘सरकारको यस्तो रवैयाले जनतामा आक्रोस पैदा हुन थालेको छ । कम्युनिस्ट पार्टीको नेता हूँ भन्नसमेत लाज लाग्ने अवस्था आएको छ ।’ उनले भने ।

राजाहरुमध्ये सबैभन्दा शक्तिशाली ज्ञानेन्द्रलाई जनताले ५ वर्ष टिक्न नदिएको स्मरण गराउँदै उनले प्रतिप्रश्न गरे– ज्ञानेन्द्र त ५ वर्ष टिकेनन्, हाम्रो अवस्था के होला ?

प्रतिक्रिया दिनुहोस