काठमाडौं । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आइसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले सुपर सिक्स सम्भावनामा ठूलो धक्का लागेको छ ।
जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रन एक सानदार इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुगेको हो ।
तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको दोस्रो बलमा अर्जुन थर्डम्यानमा क्याच आउट भएपछि विश्वकपमा शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । बाउन्सर बल थर्डम्यानको माथि सट खेल्ने धुनमा अर्जुन क्याच हुन पुगेका थिए । त्यसअघि अर्जुनले ब्यक्तिगत १४, ८६ रन र ८८ रनमा तीन जीवनदान पाएका थिए ।
तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए । देव खनाल ३४ बलमा ५ चौका र १ छक्कासहित ३६ रनमा आउट भए । अन्य कुनैपनि नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । आकाश त्रिपाठी र गुलशन झा २–२ रनमा आउट भए । उत्तम थापामगर, दीपक बोहरा, दीपेश कँडेलले खाता खोल्न सकेनन् ।
अन्तिम विकेटका लागि तिलकराज भण्डारी र सुवास भण्डारीले ३७ रनको अविजित साझेदारी गरे । सुवास भण्डारी ५२ बलमा ४ चौकासहित ३३ रनमा नट आउट रहे । तिलक भण्डारी १९ बलमा २ चौका र १ छक्कासहित १७ रनमा नट आउट रहे ।
न्युजिल्यान्डका मासन क्लार्कले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एवाल्ड श्रेडर र ओस्कर ज्याक्सनले २(२ विकेट लिए ।त्यसअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रन बनाएको थियो ।
न्युजिल्यान्डको जितमा तेस्रो नम्बरका ब्याटर स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेलेका थिए । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनमा आउट भए ।
एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी नै नेपालको हारको मुख्य कारण बन्यो ।
यी दुई ब्याटर बाहेक अन्यको प्रदर्शन भने राम्रो हुन सकेन । ओपनर टम जोनसन ४५ बलमा ५ चौकासहित ३३, ल्यूक वासटन १४ र एलेक्स थोमप्सजले १३ रन बनाए । नेपालका प्रमुख बलर गुल्शन झाले १० ओभरमा ६१ रन खर्चेर २ विकेट लिए ।
स्पिनर सुवास भण्डारीले १० ओभरमा ६० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । तिलक भण्डारी, आकाश त्रिपाठी र दीपेश कँडेलले १(१ विकेट लिए ।नेपालले यसअघि यू१९ विश्वकपमा दुवै खेलमा न्युजिल्यान्डलाई हराएको थियो । २००६ को यू–१९ विश्वकपमा न्युजिल्यान्डलाई १ विकेट र २०१६ मा ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले बुधबार पाकिस्तान र शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, २१ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यू–१९ विश्वकप : नेपालले आज स्कटल्यान्डसँग पहिलो अभ्यास खेल खेल्दै