जन्मजयन्तीका अवसरमा महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

सफल खबर संवाददाता

आइतबार, २६ कार्तिक २०८०, १५ : ०६
जन्मजयन्तीका अवसरमा महाकवि देवकोटालाई मानवतावादी कविका रुपमा स्मरण

काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५औं जन्मजयन्तीका अवसरमा आज विविध साहित्यिक कार्यक्रमसहित उनको योगदानलाई स्मरण गरिएको छ ।​

 

लक्ष्मीजयन्तीका अवसरमा भीमसेनगोलास्थित मोर्डन कन्या बहुमुखी कलेजले आज विशेष साहित्यिक कार्यक्रम आयोजना गरी महाकवि देवकोटाको योगदानलाई स्मरण गरेको हो ।कार्यक्रममा वरिष्ठ साहित्यकारले महाकविलाई विराट प्रतिभा र मानवतावादी कविका रुपमा मूल्याङ्कन गरेका थिए ।

 

वरिष्ठ कवि तुलसी दिवसले महाकवि देवकोटाका कालजयी रचनाका कारण मुलुकमा अन्य स्रष्टा जन्मन प्रेरणा मिलेको बताउँदै देवकोटा सबैखालका विचार, समुदाय र क्षेत्रका साझा महाकवि भएको उल्लेख गरे ।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष रामप्रसाद दाहालले महाकवि देवकोटा मानवतावादी कवि भएको बताए । ‘महाकवि देवकोटा मान्छेलाई ईश्वर बनाउन नचाहने र ईश्वरलाई मान्छे बनाउन नचाहने स्रष्टाका रुपमा हुनुहुन्थ्यो”, उनले भने । दायित्व वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले महाकवि देवकोटालाई स्वच्छन्दतावादी कविका रुपमा चित्रण गरे ।

कार्यक्रममा कविहरू अनिता कोइराला, कृष्ण बाउसे, सन्ध्या पहाडी तथा कलेजका छात्रा कविहरू रेणुका कँडेल, पार्वती भण्डारी, निकिसा श्रेष्ठ र सुस्मिता कोइरालाले महाकवि देवकोटासम्बन्धी कविता वाचन गरेका थिए । साहित्यिक क्षेत्रमा योगदान दिएबापत सन्ध्या पहाडीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा उपेन्द्रराज शर्मा काफ्लेको कवितासङ्ग्रह ‘मनकामना’ को लोकार्पण गरिएको थियो । सो अवसरमा कलेजका छात्रा इशा गोतामे, काशिका रायलगायतले तिहार पर्व झल्काउने मौलिक सांस्कृतिक भैलो प्रदर्शन गरेका थिए ।

महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस