डिजिटल युरो लन्चको तयारी युरोपेली बैङ्क

एजेन्सी

विहीबार, ०२ कार्तिक २०८०, १३ : ०६
डिजिटल युरो लन्चको तयारी युरोपेली बैङ्क

फ्र्याङ्कफर्ट । युरोपेली केन्द्रीय बैङ्क (ईसीबी) डिजिटल युरो लञ्च गर्ने लक्ष्यको एक खुड्किलो नजिक पुगेको छ । बुधबार बैंकले युरोको डिजिटल संस्करण निकाल्ने दुई वर्षे तयारी चरण सुरु गर्ने घोषणा गरेको छ । यो तयारी नोभेम्बर १ देखि सुरु हुनेछ । यसमा डिजिटल युरोसम्बन्धी नियमहरूलाई अन्तिम रूप दिइनेछ भने परीक्षण र प्रयोगका लागि निजी क्षेत्रका साझेदारहरू चयन गरिनेछ ।

दुई वर्षपछि गभर्निङ काउन्सिलले अर्को चरणको तयारीका लागि के गर्ने भनेर निर्णय गर्ने ईसीबीले बताएको छ । बुधबारको निर्णय बहुवर्षिय परियोजनामा सानो कदम मात्रै हो । तर यो कदमले ईसीबीलाई सात औद्योगिक देशका केन्द्रीय बैंकभन्दा अगाडि चाँहि राखेको छ । हाल केही क्यारबियन देशहरू र नाइजेरियाले मात्रै आफ्नो डिजिटल करेन्सी प्रयोगमा ल्याएका छन् ।

चीन र स्विडेनले भने यसका परीक्षण परियोजना चलाइरहेका छन् । अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ, बैङ्क अफ इङ्गल्यान्ड र बैङ्क अफ क्यानडा चाँहि यस्तो खालको परियोजनाप्रति अलि बढी नै सशङ्कित देखिएका छन् । अहिलेसम्म ईसीबीले डिजिटल युरोको एडेड भ्यालुबारे स्पष्ट रूपमा केही पनि बोल्न सकेको चाँहि छैन । तर यसले भुक्तानी बजारमा अमेरिकी कार्ड कम्पनीहरूको आधिपत्यलाई टक्कर दिनेमा भने बैङ्क ढुक्क छ ।

प्रतिक्रिया दिनुहोस