सुक्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग पाँच घण्टापछि सञ्चालनमा

सफल खबर संवाददाता

आइतबार, २१ असोज २०८०, १३ : १२
सुक्खा पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग पाँच घण्टापछि सञ्चालनमा

काठमाडौँ। सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ ।​ म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो ।

सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको प्रयासमा राजमार्ग सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

 

उनका अनुसार विपद् व्यवस्थापन प्रहरी टोल, स्थानीय पालिका र चिनियाँ कम्पनीसँगको सहकार्यबाट पहिरो हटाइएको हो । मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्ताबाट खसेको पहिरोका कारण उक्त खण्ड दुईतर्फी रुपमा अवरुद्ध थियो ।

राजमार्ग विस्तारका क्रममा भित्ता खारिँदा उक्त खण्ड पहिरोको जोखिममा रहँदै आएको छ । उक्त ठाउँमा यसअघि पनि पटक–पटक पहिरो गइरहेको छ ।

प्रहरीले पहिरोले सडक अवरुद्ध भएको अवस्थामा तनहुँ हुँदै कास्कीतर्फ जाने सानाठूला तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्गका रुपमा दमौली भोर्लेटार चोकबाट कलेस्ती–पोल्याङ–कास्कीतर्फ पठाउने गरेको छ । 

प्रतिक्रिया दिनुहोस