इमलले तोडे गाभीको कीर्तिमान, बने स्पेनको राष्ट्रिय टोलीबाट गोल गर्ने कान्छा खेलाडी

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १५ : ३४
इमलले तोडे गाभीको कीर्तिमान, बने स्पेनको राष्ट्रिय टोलीबाट गोल गर्ने कान्छा खेलाडी

काठमाडौं। लमिने यमलले आफ्नै क्लबका सहकर्मी खेलाडी गाभीको कीर्तिमान तोडेका छन् । कीर्तिमान तोड्दै इमल स्पेन राष्ट्रिय फुटबल टोलीका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।

क्याटलान क्लब बार्सिलोनाका फरवार्ड यमलले गएराति युरो २०२४ को छनोट खेलमा जर्जियाविरुद्ध ७–१ को जित निकाल्दा एक गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।उक्त खेलमा स्पेनले सात गोल गर्दा कप्तान अल्भारो मोरटाले ह्याट्रिक गरे ।

यसैगरी डानियल ओल्मो र निको विलियम्स र यमलले एक गोल गरेका हुन् भने जर्जियाका सोलोमन क्भिरक्भेलियाले एक आत्माघाती गोल उपहार दिएका थिए । घरेलु टोलीका लागि एकमात्रै सान्त्वना गोल जिअर्जी चकभेटाडले गरेका हुन् ।

गएराति गोल गर्दा यमल १६ वर्ष ५७ दिनमा मात्रै थिए । यमलले गत अप्रिलमा बार्सिलोनाको लागि डेब्यू गरेका हुन् । बार्सिलोनामा यमल पहिलो एघारमा खेल्दै आएका छन् । उनले स्पेनको डेब्यू खेलमै गोल गरेका हुन् । साथै, उनी स्पेनको राष्ट्रिय टोलीबाट खेल्ने कान्छा खेलाडी पनि बनेका छन् । 

समूह ‘ए’मा रहेको स्पेन दोस्रो जितसँगै दोस्रो स्थानमा उक्लिएको छ । तीन खेलबाट स्पेनको ६ अंक छ । पाँच खेलमा शतप्रतिशत जित निकालेको स्कटल्यान्ड १५ अंकसहित शीर्ष स्थानमा छ ।युरो छनोटको अन्य खेलमा पोर्चुगलले स्लोभाकियालाई १–०, क्रोएसियाले लातभियालाई ५–० र स्कटल्यान्डले साइप्रसलाई ३–० ले हराएका छन् ।

प्रतिक्रिया दिनुहोस