आईसीसी महिला टी-२० छनोट: थाइल्यान्डसँग ४६ रनले नेपाल पराजित

सफल खबर संवाददाता

शुक्रबार, २२ भदौ २०८०, १० : ४६
आईसीसी महिला टी-२० छनोट: थाइल्यान्डसँग ४६ रनले नेपाल पराजित

काठमाडौं। आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल थाइल्यान्डसॅंग पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित भएको हो ।

 

थाइल्यान्डले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १९.३ ओभरमा ५९ रन बनाउँदै अलआउट भयो । नेपालका लागि कविता कुँवरले सर्वाधिक १७ रन बनाइन्। त्यस्तै कविता जोशी र अप्सरी बेगमले समान १०/१० रन बनाइन् ।

यसबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।लक्ष्य पछ्याउने क्रममा नेपालले खराब शुरूआत गरेको थियो ।पराजित भएसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रहेको छ । यससँगै ग्लोबल टी२० छनोट हुँदै विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको छ ।

 

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १०५ रन जोडेको थियो । 

थाइल्यान्डका लागि नानपाट कोन्चारोएनकाइले अविजित ५९ रनको योगदान गरिन् । यसैगरी नथाकन चन्थमले ३१ र चनिँदा सुतिरुआङले ११ रन बनाए ।नेपालका लागि कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस