फुङ्लिङ । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट ११ लाख २१ हजार रुपैयाँ संकलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम संकलन भएको हो ।
सोमबार र मंगलबार भएको सेमिफाइनल खेलबाट चार लाख ६५ हजार संकलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलबाट ६ लाख ५५ हजार ८०० संकलन भएको हो ।
सेमिफाइनलको खेल हेर्न खेलमैदानमा प्रवेश शुल्क २०० रुपैयाँ र क्वाटरफाइनलका लागि १०० टिकटदर निर्धारण गरिएको थियो । आज हुने फाइनल खेलका लागि पनि २०० टिकट शुल्क निर्धारण गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।
वृद्धवृद्धा, बालबालिका तथा अशक्तका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा भारतको दार्जिलिङसहित आठ टोली सहभागी छन् । उपाधिका लागि आज जुट विकास फुटबल एकेडेमी इटहरी, सुनसरी तथा रेडहर्ष फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको विजेताले तीन लाख ११ हजार १११ र उपविजेताले एक लाख ५१ हजार १११ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० भदौ २०८०, १० : ०६
लेखकबाट थप