भारतसँग हारे पनि विराट कोहली र राहुल द्रविडबाट नेपाली खेलाडीले पाए मेडल

सफल खबर संवाददाता

मंगलबार, १९ भदौ २०८०, १३ : ०२
भारतसँग हारे पनि विराट कोहली र राहुल द्रविडबाट नेपाली खेलाडीले पाए मेडल

काठमाडौं। एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले राखेको भिडियोमा भारतका प्रशिक्षक राहुल द्रविड, खेलाडी विराट कोहली र हार्दिक पाण्ड्याबाट तीन खेलाडीले मेडल थापेको देखिन्छ । सामान्यतया जितेपछि मात्रै मेडल थाप्ने र कप उचाल्ने हुन्छ । तर, पहिलोपटक बलियो भारतसँग खेल्ने क्रममा नेपाली खेलाडीले ब्याटिङमा उच्च प्रदर्शन गरेको भन्दै हौसला बढाउन मेडल लगाइएको हो ।

 नेपाली टिमका प्रशिक्षक मोन्टी देशाई भारतीय हुन् । यसैले ब्याटिङमा राम्रो प्रदर्शन गरेका आशिफ शेख, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीलाई भारतीय प्रशिक्षक र खेलाडीबाट मेडल लगाउने प्रबन्ध मिलाएका हुन् ।भारतविरुद्ध ९७ बलमा ५८ रन बनाएका आशिफलाई कोहलीले, ५६ बलमा ४८ रन बनाएका कामीलाई पाण्ड्याले र २५ बलमा २९ रन बनाएका दीपेन्द्रसिंह ऐरीलाई प्रशिक्षक द्रविडले मेडल लगाइदिएका हुन् ।

भारतविरुद्ध २५ बलमा ३८ रन बनाए पनि ओपनर कुशल भुर्तेलले भने मेडल लगाएको देखिँदैन ।नेपाली खेलाडीले मेडल थाप्दै गर्दा भारतीय खेलाडीले रमाइलो मान्दै हासिमजाक गरेको पनि देख्न सकिन्छ । जित्ने भारतीय खेलाडीले हार्ने नेपाली खेलाडीलाई मेडल लगाइदिएको अस्वाभाविक लाग्ने दृश्य देख्नुपरेपछि भारतीय खेलाडीले हासिमजाक गरेको देखिन्छ ।

यो जितहार भन्दा पनि मोन्टीले नेपाली खेलाडीको हौसला बढाउन, भारतीय खेलाडीसँगको घुममिलको वातावरण बनाउन यस्तो कार्यक्रम राखेको देखिन्छ ।यसअघि पनि मोन्टीले राम्रो खेल्ने खेलाडीको हौसलाको लागि यस्तै कार्यक्रम राख्ने गरेको बताइन्छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ४८.२ ओभरमा २३० रन जोडेको थियो । तर २५ ओभरमा छोट्याइएको खेलमा भारतले १४५ रनको लक्ष्य १७ बल बाँकी छँदै पूरा गरेको हो । एकदिवसीय विश्ववरीयताको भारतविरुद्ध नेपालले धैर्यतापूर्वक ब्याटिङमा हिम्मत देखाएपछि चौतर्फी प्रशंसा भइरहेको छ  । यही प्रसंशाको मोन्टीले आफ्ना खेलाडीलाई भारतीय खेलाडीबाट मेडल थमाएका हुन् । 

मोन्टीले सोमपाल स्टार अल्राउन्डर र दीपेन्द्र स्टार फिल्डर भन्दै भारतीय खेलाडीलाई चिनाएका थिए । मेडल लगाएपछि खेलका क्रममा विराटले शेखको क्याच छुटाएको विषयमा पनि रमाइलो भाव देखिएको थियो ।

यसअघि पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । नेपाललाई हराएपछि पाकिस्तानी खेलाडीले मैदानमै नेपाली खेलाडीसँग अनुभव सेयर गरेका थिए । नेपाली टिम पाकिस्तान पुगेपछि मोहम्मद रिजवानले होटलमै पुगेर नेपाली खेलाडीको हौसला बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस