काठमाडौं। एसिया कप क्रिकटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई देशबीचको खेल नेपाली समयानुसार सवा ३ बजे श्रीलंकामा शुरू हुनेछ। एउटै समूहमा रहेका उनीहरू पहिलो पटक भिड्दै छन् । दुई टिम चार सालपछि आमने-सामने हुन लागेका हुन् ।
यसअघि दुवै टिमले सन् २०१९ को विश्वकप क्रिकेट खेलेका थिए । उनीहरू दुवै उपाधि दाबेदार पनि हुन् । राजनीतिक सम्बन्ध दुस्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ ।भारत-पाकिस्तानबीचको खेलमा पाँच रेकर्ड बन्न सक्ने सम्भावना छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतीय दिग्गज क्रिकेटर विराट कोहलीको १३ हजार रन पूरा हुने सम्भावना छ । आजको खेलमा बाबर आजम पाकिस्तानको सबैभन्दा बढी शतक बनाउने सईद अनवरसँग बराबरी गर्न सक्नेलगायत पाँच रेकर्ड बन्ने सम्भावना छ ।
विराट १३ हजार रन बनाउन १०२ रन मात्रै पर छन् । यदि शनिवार विराटले शतक बनाएको खण्डमा उनी सबभन्दा कम वनडे खेलमा १३ हजार रन बनाउने भारतीय खेलाडी हुनेछन् । उनी शनिवार २६६औँ खेल खेल्दै छन् । अहिले उक्त रेकर्ड सचिन तेन्दुलकरका नाममा छ । सचिनले ३२१ खेलमा १३ हजार रन पूरा गरेका थिए । बाबरका नाममा वनडेमा १९ शतक छन् । उनले अन्तिम शतक नेपालविरुद्ध बनाएका थिए । यदि उनले आज शतक बनाएको खण्डमा उनी पाकिस्तानकै सबैभन्दा बढी शतक बनाउने सईद अनवरसँग बराबरी गर्ने छन् ।
यस्तै पाकिस्तानकै ब्याट्समेन इमाम-उल-हकसँग पनि वनडे क्रिकेटमा तीन हजार रन बनाउने मौका छ । हालसम्म ६३ खेल खेलेका उनले २८८९ रन बनाएका छन् । अब तीन हजार रन पूरा गर्न उनलाई १११ रन बनाउनेपर्ने हुन्छ ।उनले तीन हजार रन पूरा गरेको अवस्थामा साउथ अफ्रिकाका हाशिम आमलापछि सबैभन्दा कम खेलमा तीन हजार रन बनाउने खेलाडी बन्ने छन् । आमलाले ६७ खेलमा तीन हजार रन पूरा गरेका थिए ।
भारतीय बलर रवीन्द्र जडेजासँग पनि विकेटमा डबल शतक बनाउने अवसर छ । यसका लागि उनलाई ६ विकेटको खाचो छ ।अहिलेसम्म उनले १९४ विकेट लिएका छन् । उनीभन्दा अगाडि भारतीय ६ बलरले २०० विकेट पूरा गरेका छन् ।उनले आफ्नो रेकर्ड पूरा गरेको अवस्थामा उनीसँग दुई हजार बढी रन र २०० विकेट लिने अलराउन्डरको रेकर्ड हुनेछ । उनले २५६० रन बनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ भदौ २०८०, १३ : ४०
लेखकबाट थप