काठमाडौं। विश्वविजेता स्पेनिस महिला खेलाडीहरूको एकैस्वरः रुबिलेसले राजीनामा नदिएसम्म देशका लागि खेल्दैनौँ। विश्वकप विजेता स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले राजीनामा नदिएसम्म देशका लागि कुनै खेल नखेल्ने घोषणा गरेको छ ।
सिनियर खेलाडीहरू एलेक्सिया पुतेल्लास, एइताना बोनमतीलगायतले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् ।स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले विश्वकप विजेता आफ्नै देशकी खेलाडी जेनी हेरमेसोलाई गरेको अस्वाभाविक चुम्बनको विरोध गर्दै उनीहरूले यस्तो घोषणा गरेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
एक साता बित्नलाग्दा पनि स्पेनमा चुम्बन विवाद सेलाएको छैन । यो राजनीतिक तहसम्म नै पुगिसकेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले रुबिलेसको आलोचना गरेपछि यसले राजनीतिक तहसम्म स्थान पाएको हो । प्रधानमन्त्री सान्चेसले रुबिलेसले जेनीलाई चुम्बन गर्नु क्षमायोग्य नभएको बताएको मार्काले जनाएको छ ।
‘खेलाडीहरूले जित्नका लागि सबै गरे, तर रुबिलेसलेबाट जस्तो व्यवहार भएको छ कि यो अस्वीकार्य छ, क्षमायोग्य छैन,’ उनले भनेका छन्, ‘हाम्रो देशमा महिला र पुरुषबीच समानता र सम्मानको सन्दर्भमा अझै लामो यात्रा गर्न बाँकी छ भन्ने यसले पुष्टि गरेको छ ।’यस्तै, स्पेनकी दोस्रो वरीयताकी उपप्रधानमन्त्री योलान्डा डियाजले त झन् अध्यक्ष रुबिलेसको राजीनामा नै मागेकी छिन् ।
अष्ट्रेलियामा आइतवार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फूटबलको उपाधि जित्यो । सो क्रममा स्पेनिस खेलडी र पदाधिकारीले खुलेरै खुसी मनाएका थिए । ट्रफी तथा मेडल वितरण कार्यक्रममा दौरान स्पेनिस फूटबल संघका अध्यक्ष रुबिलेसले आफ्नो देशका महिला खेलाडीलाई अंगालो हालेर चुम्बन गरेका थिए । यस क्रममा जेनीलाई गरेको चुम्बनले भने विवाद सिर्जना गरेको हो ।
हुन पनि अध्यक्ष रुबिलेसले जेनीको मुखमै चुम्बन गरेका थिए । यसलाई लिएर विश्वभरका सञ्चारमाध्यमहरूले विभिन्न समाचार बनाएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले मुखमा चुम्बन गर्नु खराब नियत भएको बताएका थिए ।यसपछि स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले यो घटनालाई लिएर माफी मागेका थिए । रुबिलेसले खराब नियतले नगरिएको भए पनि त्यो माफ्नो गल्ती भएको बताएका थिए ।
तर, उनले दबाबका बीच पनि राजीनामा दिएका छैनन् ।अर्कोतिर खेलाडी जेनीले भने अध्यक्ष रुबिलेसले आफूलाई चुम्बन गर्दा अफ्ठ्यारो महसुस गरेको प्रतिक्रिया दिएकी थिइन् ।यसैबीच, स्पेनिस पुरुष खेलाडी बोर्जा इग्लेसियासले पनि शुक्रबार फुटबल संघमा रुबिलेस हुँदासम्म राष्ट्रिय टोलीमा नखेल्ने घोषणा गरेका थिए । रियल बेटिसबाट खेल्ने उनले स्पेनका लागि हालसम्म २ खेल खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १५ : ०२
लेखकबाट थप