साफ यू–१५ महिला फुटबलमा भुटानसँग नेपालको बराबरी

विहीबार, ०६ पुस २०७४, १६ : ३४
साफ यू–१५ महिला फुटबलमा भुटानसँग नेपालको बराबरी

चितवन । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ । बिहिबार भएको अन्तिम खेलमा नेपालले भुटानसँग १– १ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा पेनाल्टीमा गोल गर्न नसक्दा नेपालले भुटानसँग बराबरी खेलेको हो । खेलमा सुरुवाती अग्रता भने भुटानले लिएको थियो । पहिलो हाफमा भुटानकी डेकी इहाजुमले गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्  ।

दोस्रो हाफमा नेपालकी सुष्मा तामाङले गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । तर, पाएको पेनाल्टीमा नेपालकी सरस्वती हमालले गोल गर्न असफल हुँदा खेल १–१ को बराबरीमा सकियो ।

यो बराबरीसँगै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै प्रतियोगिता सकाएको छ ।  तीन खेलमा १ अंक जोडेको नेपाल च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा नेपाल भारतसँग १०–० ले पराजित भएको थियो ।  यता, १ अंक जोडेको भुटान तेस्रो स्थानमा रह्यो । प्रतियोगिताबाट बाहिरिसकेको भुटान पनि पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा बंगलादेशसँग ३–० ले नै पराजित भएको थियो ।

राउण्ड रोविन लिगको आधारमा जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन् । अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश शिर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । तीन खेल जितेको बंगलादेशले ९ अंक जोड्यो । एक खेलमा हार र दुई खेलमा जित निकालेको भारतले ६ अंकसहित उपविजेता बनेर फाइनलमा स्थान पक्का गर्यो । फाइनल खेल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस