आज विश्व स्तनपान सप्ताह मनाइँदै

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, ०७ : ४१
आज विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौ । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ ।

स्तनपानको महत्त्वबारे जानकारी दिन १ हप्तामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ ।  

यस वर्ष ‘स्तनपान गरौं, काम गरौं’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ ।

विश्व स्वास्थ्य संगठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ । 

स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार शिशुलाई जन्मेको १ घण्टामा स्तनपान गराउनुपर्छ । 

शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ६ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराइन्छ । स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा ८ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै ३०० खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।  

स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्छ । शिशुको वृद्धि, विकास र रोगप्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्त्वपूर्ण हुने गर्छ । चिकित्सकका अनुसार स्तनपानले शिशुलाई कष्ट र तनावबाट समेत मुक्त गराई आराम प्रदान गर्दछ । 

दीगो विकासको लक्ष्य प्राप्तिका लागि स्तनपान एक प्रमुख आधार हो । कुपोषण घटाउनका लागि स्तनपानले महत्त्वपूर्ण भूमिका खेल्छ ।    

प्रतिक्रिया दिनुहोस