बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, ०८ : ३०
बाजुरामा बाढी पहिरोबाट १३ परिवार विस्थापित, दर्जनौं घर जोखिममा

बाजुरा  । बाढी र पहिरोका छुट्टाछुट्टै घटनामा यहाँका १३ परिवार बिस्थापित भएका छन् ।

शुक्रबार आएको बाढी र पहिरोका कारण यहाँका हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौं घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिमाली गाउँपालिका-३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको हो ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी निरीक्षक कठायतले जानकारी दिए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको प्रहरीको भनाइ छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।

साथै गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरीका पाँच र ढल्काँडाका सात गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिइन् ।

उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा, ब्रिजित बोहराको परिवार विस्थापित बनेको छ ।

प्रतिक्रिया दिनुहोस