दाइजोको कारण दर्जनौंले गरे विवाह अस्वीकार, केटीले सुरु गरिन् दाइजोविरुद्ध अभियान

एजेन्सी

आइतबार, ३१ असार २०८०, १३ : ४६
दाइजोको कारण दर्जनौंले गरे विवाह अस्वीकार, केटीले सुरु गरिन् दाइजोविरुद्ध अभियान

नयाँ दिल्ली । भारतमा सन् १९६१ देखि दाइजो लिनु र दिनु गैरकानूनी भए पनि आज पनि यो व्यापक प्रचलनमा छ । केटीको परिवारले केटाको परिवारलाई नगद,कपडा र गरगहनाको रूपमा दाइजो दिने अपेक्षा गरिन्छ।

भोपालकी २७ वर्षीया शिक्षकाले यो गैरकानूनी प्रचलन र सामाजिक कुरीतिलाई उन्मूलन गर्न अभियान सुरु गरेकी छन् । उनले प्रहरी अधिकारीहरुलाई विवाह हलको अनुगमन र छापा मार्न आग्रह गर्दै निवेदन दिएकी छन् ।

दर्जनौं केटाहरूले दाइजोका कारण विवाह गर्न अस्वीकार गरेपछि आफूले भोपाल प्रहरीमा निवेदन दिएको गुञ्जन तिवारी (नाम परिवर्तन)ले बीबीसीलाई बताइन्। पछिल्लो पटक यो घटना यस वर्षको फेब्रुअरीमा भएको थियो जब गुंजनका बुबाले एक केटाका परिवारका सदस्यहरूलाई सम्बन्धका लागि निम्तो दिएका थिए। परिवारका सदस्यहरू एकअर्कालाई भेटेपछि, गुञ्जनले पाहुनाहरूको लागि चिया र खाजाको ट्रे ल्याइन्।
 
गुञ्जनले भोपालबाट फोनमा भनिन्, ‘यो निकै डरलाग्दो क्षण थियो। सबैले मलाई हेरिरहेका थिए, मानौं मेरो शरीर नाप्दै थिए।गुञ्जनका अनुसार पाहुनाको अगाडि कसरी जाने भन्नेबारे परिवारमा धेरै चर्चा भएको थियो ।

आमाले हरियो पहिरन रोजेकी थिइन् किनभने आफ्नी छोरी त्यो पहिरनमा अझ सुन्दर देखिन्थिन् । उनले गुञ्जनलाई धेरै चर्को स्वरमा न हाँस्न पनि सल्लाह दिएकी थिइन्। ताकि पाहुनाले उनको दाँत नदेखून्। गुञ्जनको दाँत अलि बाङ्गो छ।

गुञ्जनका लागि यो सबै नौलो कुरा थिएन । यो चक्र विगत छ वर्षदेखि चलिरहेको छ । यस क्रममा सोधिएका प्रश्नहरू पनि उस्तै छन्– कति पढेकी छौ, के काम गर्छौ र खाना पकाउन आउँछ कि आउँदैन ?

 दाइजोमा छुटको कुरा

गुञ्जन कोठामा पस्नुअघि उनका बुवाले केटाका बुवासँग दाइजोको कुरा गरिरहेका थिए ।उनले भने, ‘कोठामा जानुअघि बुवाले दाइजोको बारेमा सोधेको सुनेँ । पचास–६० लाख रुपैयाँ मागेको सुनेका थियौं, हजुरको छोरी सुन्दरी भएमा छुट पाउँछु भनेर हाँस्दै बुबालाई भनेका थिए।'

वार्तालाप अगाडि बढ्दै गयो, पाहुनाहरूले उनको दाँत र निधारमा भएको चाउरीको बारेमा सोधे। गुंजनले आफ्नो बुबाले कुनै छुट नपाउने कुरा बुझिन्।चियापछि गुञ्जनले केटासँग एक्लै कुरा गर्ने मौका पाइन् । त्यसपछि गुञ्जनले दाइजोका कारण बिहे नगर्ने बताइन् । 

त्यसपछि केटाले पनि दाइजो सामाजिक अपराध हो भनेर स्विकारे। गुंजनले आफूले अहिलेसम्म भेटेका सबै केटाहरूभन्दा अहिलेको फरक भएको महसुस गरिन् । तर चाँडै तिवारी परिवारले गुंजनसँगको सम्बन्ध स्वीकार नगरेको थाहा भयो।

गुञ्जन भन्छिन्, 'मेरी आमाले दाइजो विरोधी अडान लिएरको मलाई गाली गर्नुहुन्थ्यो। उहाँ धेरै रिसाउनुभयो र मसँग दुई हप्ताभन्दा बढी बोल्नुभएन।गुञ्जनका अनुसार विगत छ वर्षमा उनका बुबाले कम्तीमा १०० देखि १५० योग्य बेहुला फेला पारेका छन् र तीमध्ये दुई दर्जनभन्दा बढीलाई भेटेका छन् । गुञ्जन आफैंले यीमध्ये ६ परिवारलाई भेटेकी थिइन् र हरेक पटक दाइजोका कारण बिहा हुन सकेन ।

गणितमा स्नातकोत्तर गरेकी गुञ्जन अनलाइनबाट गणित पढाउँछिन्। उनी भन्छिन्, 'धेरै पटक अस्वीकृत भएपछि मैले आफ्नो आत्मविश्वास गुमाएको छु।'गुञ्जनका अनुसार उनले यस विषयमा धेरै सोचेकी थिइन् । उनले भनिन्, ‘जब म तार्किक रूपमा सोच्छु, मलाई लाग्छ कि ममा कुनै कमी छैन। हालैको एक अध्ययन अनुसार यो गैरकानुनी भए पनि ९० प्रतिशत भारतीय विवाहमा दाइजो संलग्न हुन्छ।

दाइजोका लागि केटीका अभिभावकले ठूलै ऋण लिने वा दाइजोको लागि जग्गा वा घर बेच्ने गर्छन् । यही कारणले गर्दा कहिलेकाहीँ आमाबुवाको बोझ बनेको जस्तो लाग्ने उनले बताइन् ।

दाइजोको माग पूरा गरेपछि पनि छोरीको जीवन सुखमय हुन्छ भनेर आश्वस्त हुन सकिन्न। एनसीआरबीको तथ्याङ्क अनुसार, दाइजोकै कारण २०१७ देखि २०२२ सम्ममा लगभग ३५ हजार ४९३ महिलाको मृत्यु भएको छ। 

‘प्रहरी जताततै उपस्थित हुन सक्दैन’

समाजसेवीहरुका अनुसार भारतमा दाइजोका कारण लैङ्गिक समानताको अवस्था राम्रो हुन सकेको छैन । संयुक्त राष्ट्रसंघको अनुमान अनुसार भारतमा वर्षेनी करिब ४ लाख बालिकाको भ्रूण हत्या हुने गरेको छ ।

गुञ्जनले भोपालका प्रहरी आयुक्त हरिनारायण चरी मिश्रलाई दिएको निवेदनमा विवाहको समयमा छापा मार्नु र दाइजो कारोवारमा संलग्नलाई पक्राउ गर्नु मात्र विकल्प भएको बताएकी छन् । उनी भन्छिन्, 'दण्डको डरले मात्र यो प्रथा बन्द हुनेछ।'

हरिनारायण चरी मिश्रले भने, ‘दाइजो सामाजिक दुष्टता हो । हामी यसलाई अन्त्य गर्न प्रतिबद्ध छौं। मैले सबै प्रहरी चौकीहरूलाई निर्देशन दिएको छु कि यदि कोही महिला मद्दतको लागि आएमा तुरुन्त मद्दत गर्नुहोस्।'

तर, प्रहरी प्रशासनको पनि सीमा रहेको उनको भनाइ छ । उनले भने, ‘प्रहरी सबै ठाउँमा हुन सक्दैन । जनताको मानसिकता परिवर्तन हुन आवश्यक छ, त्यसैले यस पक्षमा चेतना जगाउनु आवश्यक छ ।'

महिला अधिकारकर्मी कविता श्रीवास्तवका अनुसार प्रहरीले पक्कै पनि सहयोग गर्न सक्छ तर दाइजो उन्मूलन जटिल समस्या हो। उनले भनिन्, ‘भारत प्रहरी राज्य होइन । दाइजो विरुद्धको कानुन छ र त्यसलाई कडाइका साथ लागू गर्नुपर्छ ।'

कविता श्रीवास्तवका अनुसार धेरै लोभी परिवारले विवाहपछि पनि केटीको परिवारसँग दाइजोको माग गरिरहन्छन्, किनभने यो सजिलै उपलब्ध हुन्छ र धनी बन्न सकिन्छ। उनले जीवनभर दाइजोका कारण घरेलु हिंसाको सामना गर्नुपरेको वा दाइजोको माग पूरा नगरेको भन्दै आमाबुवाको घरबाट निकालिएका कैयौं महिलाको उल्लेख गरिन् । कविता श्रीवास्तवका अनुसार युवाहरूले दाइजो दिन वा लिन इन्कार गरेपछि मात्र यो प्रथा बन्द हुन्छ।

गुंजनले आफू बिहे गर्न चाहेको बताउँछिन् । उनले भनिन्, ‘जीवन लामो छ र म एक्लै बिताउन चाहन्न । तर यो पक्का हो कि म दाइजो दिएर विवाह गर्दिनँ।'  तर समय बित्दै जाँदा उनको परिवारको चिन्ता बढ्दै गएको छ । उनी भन्छिन्, ‘मेरो पैतृक घर उत्तर प्रदेशको इटावा जिल्लामा छ, जहाँ २५ वर्षको उमेरलाई पनि विवाहका लागि बुढो भएको मानिन्छ।'

यही कारणले गर्दा गुञ्जनका बुबाले छोरीको लागि हरेक सम्भावित केटा खोज्ने प्रयास गरिरहेका छन् । उनी एउटा ह्वाट्सएप ग्रुपमा पनि सामेल भइसकेका छन् जसमा उनको जातका २००० भन्दा बढी मानिस सदस्य छन् र त्यहाँ उनले आफ्ना छोराछोरीको विवाहका लागि सीभीहरू सेयर गरिरहन्छन्।

गुञ्जनले भने, ‘धेरैजसो मानिसहरु धमाधम बिहे गर्न चाहन्छन्, जसमा ५० लाख वा त्योभन्दा बढी खर्च गर्नुपर्ने हुन्छ । मेरो बुबासँग आधा रकम खर्च गर्ने क्षमता छ।' गुञ्जनका अनुसार दाइजोविना विवाहको चर्चाले अभिभावकको समस्या बढेको छ । उनले भनिन्, ‘मेरा बुबाले ६ वर्षदेखि केटा खोज्दै आएको बताउनुहुन्छ । उहाँ दाइजोविना ६० वर्षमा पनि केटा भेटिँदैन भन्नुहुन्छ। '  बीबीसी

प्रतिक्रिया दिनुहोस